ईलाम: उच्च अदालतको ईलाम ईजलास परिसरमा मृत फेला परेकी महिला कर्मचारीको हत्यामा संलग्न सुरक्षा गार्ड पक्राउ परेका छन् ।
सोलुखुम्बु जिल्लाको सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका ७ मा भाडामा बस्दै आएकी ४८ बर्षीया बिमला देवी निरौला पराजुलीको सोमबार बिहान अदालत परिसरमा शव फेला परेको थियो । शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय ईलामका एसपी महेन्द्र कुमार श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेको थियो भने थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको बिशेषज्ञ टोली झिकाएको थियो ।
उक्त टोलीले अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको हत्यामा संग्लग्नता रहेको देखिए पछि बाँनिया पक्राउ परेका छन् । पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।