धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सद्धिकरण गर्न जारी आन्दोलनप्रति धरानका केही वडाअध्यक्षहरुले ऐक्यवद्धता जनाएका छन् ।

संयुक्त संघर्ष समितिसँग मंगलबार आयोजित छलफलको क्रममा धरानका वडाअध्यक्ष एवं जनप्रतिनिधिहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । संघर्ष समितिले मंगलबार दिउँसो धरानका वडाअध्यक्षहरुलाई आन्दोलनबारे धारणा बुझ्न र समर्थन जुटाउन छलफलमा आमन्त्रण गरेको थियो । धरानका २० वटै वडाका अध्यक्षहरुलाई निमन्त्रण गरेपनि ३ जना मात्र अध्यक्षहरु आएका थिए भने २ जना वडा सदस्यहरु गएका थिए ।

छलफलमा पुगेका अध्यक्षहरुले प्रतिष्ठान सुधारको लागि जारी आन्दोलनप्रति आफुहरुको पनि ऐक्यवद्धता रहेको धारणा व्यक्त गरे । तपाथी उनीहरुले कुनै राजनीतिक स्वार्थ प्रेरित आन्दोलन गर्न नहुने पनि सुझाव दिएका थिए । वडाअध्यक्षहरुले पनि राजनीतिकरण र नियुक्तीमा भ्रष्टीकरण हुनु नै प्रतिष्ठान धरासायी हुनुको कारण भएको धारणा व्यक्त गरेका थिए । उनीहरुले आवश्यक परे आन्दोलनमा जनता उतार्ने पनि वचन दिए ।

bp-wada1

छलफलमा धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवाल, वडा नं १० का अध्यक्ष श्रीप्रसाद सुब्बा, वडा नं १२ का अध्यक्ष टंक राई र वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बु सहभागी भएका थिए भने वडा नं १८ की वडा सदस्य जमुना त्रिखत्री मोक्तान र वडा १२ का सदस्य ब्रह्मज्ञ भट्टराई पनि सहभागी थिए । वडा १० का अध्यक्ष सुब्बाले आर्थिक बर्षको अन्तिम बेला भएको कारण वडा कार्यालयमा कर, भुक्तानीलगायत धेरै कामको चाप भएकोले कार्यक्रममा आउन गाह्रो भएको बताए । उनले सार्वजनिक विदाको दिन छलफल कार्यक्रम राखेमा आफुहरु आउने बताए ।

वडा १२ का अध्यक्ष राईले पनि वीपी प्रतिष्ठान भ्रष्टचारको दलदलमा फसेको देख्दा दुःख लागेको बताए । प्रतिष्ठानलाई भ्रष्टचारबाट मुक्त गर्न निरन्तर पहल गर्नुपर्ने उनले बताए । वडा १२ का सदस्य भट्टराईले व्यक्ति र राजनीतिक स्वार्थको लागि आन्दोलन हुन नदिन सचेत हुनुपर्ने सुझाव दिदै भ्रष्ट कर्मचारीहरुलाई पनि कारबाही गराउन लाग्नुपर्ने बताए । वडा नं १९ का अध्यक्ष लिम्बुले पनि आन्दोलनमा एकजुट हुन आग्रह गरे । प्रतिष्ठान धरानको गहना भएको उल्लेख गर्दै सहयोग गर्न तयार रहेको बताए ।

    वडा नं ९ का अध्यक्ष कटवालले डा.सुन्दरमणी दिक्षितको कार्यकालको स्मरण गर्दै फेरि पनि त्यस्तै नेतृत्व विपी प्रतिष्ठानमा आवश्यक भएको बताए । राजनीतिकरण र नियुक्तीमा पैसाको चलखेल शुरु भएपछि नियुक्ती भएर आउने पदाधिकारीहरु व्यापारमा लाग्ने उनको भनाई थियो । उनले सुद्धिकरण वीपीमा मात्र नभै नियुक्ती गर्ने निकायहरुसम्मै सुद्धिकरण आवश्यक भएको बताए । साथै उनले आवश्यक परे आन्दोलनमा जनता उतार्न पनि पछि नपर्ने बताए।

संघर्ष समितिका संयोजक डा. एस.पी.रिमाल, सहसंयोजक डा.विष्णु पोखरेल, जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले आफुहरुको आन्दोलन राजनीतिक स्वार्थबाट निर्देशिन नभएको प्रष्ट पारे । उनीहरुले गुणस्तरीय उपचार सेवा, उपकरण मेशिन राम्रो हुनुपर्ने, शिक्षा र स्वास्थ्यलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने, नियुक्ती मापदण्ड बनाएर प्राज्ञिक व्यक्ति हुनुपर्ने, पदाधिकारीहरुले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नुपर्नेलगायत मागहरु रहेको प्रष्ट्याएका थिए ।