धरान : धरान वडा नं. १७ स्थित अजम्बर मार्गदेखि बेलगाछी लाईनसम्मको सडक कालोपत्रे भएको छ ।
उक्त सडकको बिहीबार धरान उपमहानगरका मेयर तिलक राई र वडा नं. १७ का वडाधयक्ष मनोज भट्टराईले संयूक्त रुपमा कालोपत्रे सडकको उद्घाटन गरेका छन् । सडक उपभोक्ता समितिका सचिव उमेश राईका अनुसार करिब ४ सय ५० मिटर सडकको कालोपत्रे सम्पन्न भएको हो । यो सडक ४८ लाख ३५ हजार ३ सय ७४ रुपैयाँको लागतमा कालोपत्रे कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव राईले जानकारी दिए ।
यो सडक मेयर कोष, उपमहानगरपालिका, १७ नं. वडा कार्यालय र स्थानिय उपभोक्ताको लगानीमा निर्माण भएको हो । उपभोक्ता समितिका सचिव राईले सडक आसपासमा रहेका विधुतको ट्रान्सफर्मर सार्ने, विधुतको पोल फेर्नुका साथै स्थानियले खानेपानीको पाईपलाईन पनि पैसा उठाएर सारेको सचिव राईले बताए ।
मेयर राईले धरान उपमहानगरपालिकाले लागत साझेदारीमा निर्माण गरेको बाटोहरु धेरै संख्यामा पुगिसकेको बताए । बाटोको विषयमा छलफल पनि भईरहेको छ । उपभोक्ताहरु आफै ठेकेदार हुने, कमसल र गुणस्तरहिन बनाउने सुरुवात भईरहेको मेयर राईले बताए । उनले उपभोक्ता बिचमै पदाधिकारीहरु ठेकेदारको रुपमा रहेर आफ्नो निर्माणलाई सम्झौता गर्ने, गुणस्तरहिन सामग्री प्रयोग गर्ने प्रवृति बढेको र यसले राज्य र जनताले नोक्शान बेहोर्नु परेको पनि बताए ।