धरान: कोरोना संक्रमणबाट धरानमा थप २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान ४ का ३७ बर्षीय महिला र धरान ११ का ७१ बर्षीय वृद्ध पुरुष छन् । दुवैको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान ४ की महिलाको हिजो साँझ ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो । मृतकलाई असार २८ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

यसैगरि, धरान ११ का ७१ बर्षीय वृद्धको पनि गए राती १ बजेर २५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असार २१ गते संक्रमण पुष्टि भएको थियो भने २५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।