धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राती फेरि लफडा भएको छ । 

प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीले छिमेकी क्वार्टरमा रहने एक डिएम अध्ययनरत डाक्टरलाई धाकधम्की दिएको बिषयले विवाद निम्तिएको हो । रायमाझी विरुद्ध डाक्टर विप्लव कार्कीले प्रहरीमा लिखित निवेदन पनि दिएका छन् । उनले लेखा प्रमुख रायमाझीले मादक पदार्थ सेवन गरेर तनाथान गालीगलौज गरेको, मानिसक तनाव दिएको र भौतिक आक्रमणको धम्की दिएको निवेदनमा खुलाएका छन् ।

डा.कार्कीले आफुलाई रायमाझीले अपशब्दहरु प्रयोग गरेर क्वार्टरबाट निकालिदिने धम्की दिएको दाबी गरेका छन् । उनले रायमाझीलाई हदैसम्मको कारबाही गर्न पनि माग गरेका छन् । यो घटना बाहिरिए पछि आइतबार राती अबेरसम्म प्रतिष्ठानका डाक्टर तथा विद्यार्थीहरुले रायमाझीको क्र्वाटरमा घेराउ गरेका थिए । उनीहरुले रायमाझीको मापसे जाँच गर्नुपर्ने माग गरेपनि उनी कोठामा भने भेटिएनन् । क्वार्टर घेराउ भएपछि र प्रहरी आएपछि रायमाझी गोप्यतरिकाले फरार भएको विद्यार्थीहरुको भनाई छ ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीका अनुसार रायमाझीले जेआर र डिएम अध्ययनरत डाक्टरको क्वार्टर पनि आफैले लिन खोज्दा विवाद बढ्दै गएको बताए । ‘उहाँले अन्त सार्न खोजेर दुवै क्वार्टर लिन खोज्नु भएको रहेछ । आज नै मादक पदार्थ सेवन गरेर गालीगलौज गरेको, धम्क्याएको कुरा आयो, तर प्रहरी आएपछि फरार हुनु भएको भन्ने कुरा आयो,’उनले भने,‘प्रहरीमा निवेदन दिएको छ, भोली आवश्यक प्रक्रिया अघि बढाउने कुरा छ ।’

bp lafada1

यता, आरोपित लेखा प्रमुख रायमाझीले भने मदिरा पिएर गालीगलौज, धाकधम्की दिएको कुरा अस्वीकार गरेका छन् । उनले क्वार्टरको बिषयमा लामो समयदेखि विप्लक कार्कीसँग सरसल्लाह भइरहेको र एस टाइपमा कोठा भेटिएपछि सार्ने तयारी भइरहदा एक्कासी आफुलाई नियोजितरुपमा फसाइएको बताए । 'म र श्रीमतिले नै उहाँसँग सल्लाह गरेर एस टाइपमा कोठा भेटिए पनि देखाएको पनि हो । आवश्यक पत्रहरु दिएर सर्ने तयारी गर्दा गर्दै फेरि चाबी र पत्र फर्काइदिनु भएछ,'रायमाझीले भने,‘त्यही बिषयमा आज विप्लवलाई वचन पनि पुरा नगर्ने ? के गरेको ? पहिला नै सर्दिन भनेको भए हुन्थ्यो ? भनेर त त म म भएको हो । तर मैले पिएर गाली गरेको होइन, प्रहरी बोलाउनु भएछ । नियोजित जस्तो भयो ।’ उनले आफु भागेको नभै पाहुना पनि आएकोले बिहानको लागि ब्रेड किन्न आएको बेला क्वार्टरअघि भिड जम्मा भएकोले श्रीमतिले नआउनु भनेपछि कोठा नगएर बाहिरै बसेको पनि बताए । घटनाबारे ईलाका प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।