धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तजनसहित व्यक्तिहरुले तोडफोड गरेका छन् ।

तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केही मृतकका आफन्तजनहरु पनि छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार ९ जना नियन्त्रणमा छन् । मृतकको शव व्यवस्थापन गर्न बाँकी रहेको र आफन्तजनहरु पनि रहेकोले क्षतिको मुल्यांकन गरेर छोड्न सकिने डिएसपी कँुवरले बताए । उनले भने,‘मृतकका आफन्तजनहरुले आक्रोशमा आएर सिसा तोडफोड गरेका छन्, हामीले ९ जनालाई नियन्त्रणमा लिएका छौं ।’

कोरोना संक्रमित धरान १७ की ५४ बर्षीय शान्ति तामाङको हिजो सोमबार कोभिड अस्पतालमा दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । उनलाई असार २७ गते संक्रमण पुष्टि भएको थियो भने ३० गते कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानले जनाएको छ । उनको पेटमा चोट लागेको र उपचारको क्रममा कोभिड अस्पतालमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले बताए । 

covid todfod1

मृतकका आफन्तजनहरुले भने ठिकै अवस्थामा रहेको विरामी एक्कासी मृत्यु भएकोमा आशंका व्यक्त गर्दै लापरवाही भएको गुनासो गरेका थिए । सोही बिषयमा आज करिब २ घण्टा अस्पताल प्रशासन र मृतक पक्षबीच वार्ता भएको थियो । मृतक भएको कोठाको सिसिटिभीमा खराबी भएको भनेपछि भित्रै गएर भएपनि हेर्ने कुरा भएको थियो । वार्ताको सहमति अनुसार सिसिटिभी फुटेज हेर्न जाने क्रममा डिउटी सिफ्ट फेरिने बेला भएको र पिपिई लगाउदा ढिला भएपछि मृतक पक्षका युवाहरुले ढुंगा प्रहार गरेका थिए । 

मृतक पक्षका व्यक्तिहरुले अस्पताल हाताभित्र प्रवेश गरेर ढुंगा प्रहार गरेका थिए । अस्पतालको मुल ढोकाको सिसा र झ्यालको सिसा फुटेको छ । केही व्यक्तिहरु भित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीहरुलाई गालीगलौज पनि गरेको चिकित्सकहरुको भनाई छ । ‘४, ५ जना भित्रै प्रवेश गरेर गालीगलौज पनि गरेछन्,’सहप्रवक्ता डा.पोखरेलले भने ।

मृतक घरको बाथरुममा लडेर घाइते भएपछि उपचारको लागि विजयपुर हस्पिटल लगिएको थियो । विजयपुरबाट घाइतेलाई वीपी प्रतिष्ठान रिफर गरिदिएको थियो । प्रतिष्ठानमा नै उपचारको क्रममा कोरोना संक्रमण देखिएको र कोभिड अस्पतालमा भर्ना गरिएको आफन्तजनको भनाई छ । उनीहरुले उपचारमा लापरवाही भएको, गम्भीर अवस्था हुँदा पनि आइसियुमा नराखेको भन्दै छानबिन हुनुपर्ने, मृत्यु हुनुअघिको विरामीको अवस्था जानकारी दिनुपर्ने, सिसिटिभी फुटेज हेर्न पाउनुपर्नेलगायत माग राखेका थिए ।