धरान: नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति एवं प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाले आसन्न १४ औं महाधिवेशनमा कुनै पनि गुटमा नलागी एकजुट हुन कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

३९ औं वीपी स्मृति दिवसको अवसरमा बुधबार धरानमा आयोजित विचार गोष्ठीमा सभापति कोइरालाले यस्तो आग्रह गरेका हुन् । धरान २ स्थित नवनिर्मित पार्टी कार्यालय भवनमा आयोजित कार्यक्रममा नेता कोइरालाले महाधिवेशनमा यो वा त्यो गुटमा नलागी पार्टीलाई एकढिक्का बनाउन सबै लाग्नुपर्ने बताए । केन्द्रले तोकेकै मितिमा वडाको अधिवेशन गराउने पनि उनले बताए ।

जननायक वीपी कोईरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको पनि सभापति कोइरालाले चर्चा गरेका थिए । साथै, उनले धरानमा कांग्रेस आफ्नै खुट्टामा उभिन सफल भएको भन्दै प्रशंसा पनि गरे । उपनिर्वाचनमा धरानमा नगर प्रमुख पदमा जित हासिल गरेको र आफ्नै पार्टी कार्यालयको भवन निर्माण गर्न सफल भएको भन्दै उनले खुशी पनि व्यक्त गरे । 

यसैगरि, सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठले पनि कांग्रेसले धरानमा उपनिर्वाचनमा जित हासिल गरेर इतिहास बनाएको बताए । उनले धरान १३ मा जननायक विपीको नाममा पार्क बनाएको र अग्रज नेताद्धय बलबहादुर राई÷भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको भन्दै प्रसंशा पनि गरे ।

धरानका मेयर समेत रहेका कांग्रेस नगर सभापति राईले धेरै लामो समयपछि धरानमा जित हासिल भएको बताए । उनले कांग्रेसकी नेतृ एवं वडा नं. १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले धरान २ स्थित निकेतन गल्लीमा पार्टी कार्यालय बनाउन निःशुल्क जग्गा दिएको पनि जानकारी दिए । उनले पार्टी कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गराउन पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आग्रह गरेको पनि जानकारी दिए । 

त्यसअघि, आजै बिहान ३९ औं वीपी स्मृति दिवसको अवसरमा धरान १३ स्थित वीपी पार्कमा वीपी कोइरालाको पूर्णकदको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको थियो । प्रदेश १ प्रदेशसभाका सांसद चन्द्र प्रसाद श्रेष्ठ, कांग्रेस सुनसरी श्रेत्र नं १ का सभापति सुरेशमान श्रेष्ठ, धरानका मेयर तिलक राईसहितका नेताहरुले माल्यार्पण गरेका थिए ।