धरान: पैसा फिर्ता नदिएको झोकमा इटहरीमा एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ३ जना युवा पक्राउ परेका छन् भने एक जनालाई प्रहरीले उद्दार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान इटहरी ८ स्थित फुलबारी टोलको प्लटिङमा एक व्यक्तिलाई ३ जनाले आँखामा पट्टी बाँधेर कुटपिट गरिरहेको सुचना प्रहरीले पाएको थियो । सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालयको टोलीले अपहरणमा परेको भनिएका इटहरी ४ का २२ बर्षीय निर्मल श्रेष्ठलाई उद्दार गरेको हो । साथै, उनलाई कुटपिट गरिरहेका इटहरी ७ का २५ बर्षीय संगीत थापा, १९ बर्षीय अनिष कार्की र इटहरी ८ का २३ बर्षीय सिद्धार्थ राई पक्राउ परेका छन् । उनीहरुले निर्मललाई कुटपिट गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

पीडित श्रेष्ठसँग आवश्यक सोधपुछ गर्दा बिहिबार दिउँसो करिब १ बजेतिर इटहरी ९ भोजपुरे टोलबाट ३ जनाले जर्बजस्ती सिटी सफारीमा राखेको र आँखामा पट्टीसमेत बाँधेर विभिन्न स्थान घुमाएको वयान दिएका थिए । रात परेपछि संगीत थापाको घरको कोठामा पुर्याएर रातभर आँखामा पट्टी बाँधेर थुनेर राखेको उनले प्रहरीलाई बताएका छन् । भोलीपल्ट शुक्रबार आँखाको पट्टी बाँधेकै अवस्थामा पैदल हिडाउदै इटहरी ८ मा ल्याएर कुटपिट गरेको वयान प्रहरीलाई दिएको छ ।

प्रहरी अनुसन्धानबाट घटना पैसाको लेनदेनको कारण भएको खुलेको छ । इटहरीका डिएसपी अर्जुन केसीका अनुसार संगीता थापाको पैसा चलाएको र पछि फिर्ता नदिए पछि ३ जना मिलेर अपहरण गरि कुटपिट गरेको खुलेको छ । 'पैसाको लेनदेख रहेछ, संगीतको पैसा फिर्ता नदिए पछि ३ जना मिलेर यो हत्कण्डा मच्चाएका रहेछन्,' डिएसपी केसीले भने,'रकम सानो नै छ, तर त्यो नपाएपछि आँखामा पट्टी बाँधेर अपहरण गरेर एक रात कोठामा राखेर भोलीपल्ट कुटपिट गर्दै गर्दा प्रहरीले उद्दार गरि ल्याएको हो ।' 

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले तिनै जनालाई पक्राउ गरि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित श्रेष्ठले पनि प्रहरीमा जाहेरी दिएका छन् । तीनै जनालाई अदालतबाट ७ दिनको म्याद थप भएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।