मोरङ: प्रहरीले मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट भारतीय र अमेरिकन डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको लखनउका ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । हिजो (शुक्रबार) दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरु पक्राउ परेका हुन् । अतुल कुमारको साथबाट भारतीय नोट ५०० को २ सय थान (१ लाख) वरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, सन्दिप सिंहको साथबाट भारतीय नोट ५०० को २१७ थान (१ लाख ८ हजार ५ सय) अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान र १ को ४ थान वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाएको पनि मोरङ प्रहरीले जनाएको छ ।