धरान: पञ्चायतकालमा धरानमा लगातार २ पटक नगर पञ्चायतका प्रमुख (प्रधानपञ्च) भएका सुर्यप्रसाद उपाध्यायको निधन भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ८५ बर्षको उमेरमा आज दिउँसो अढाई बजे निधन भएको हो । धरान १४ विजयपुर निवासी उपाध्याय मुटुको उपचार गराइरहेका थिए । महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यपाक डा.राजेन्द्र शर्माका अनुसार पञ्चायत व्यवस्था शुरु भएपछि भएको पहिलो नगरको निर्वाचनमा उपाध्याय २०१९ सालमा प्रधानपञ्चमा निवार्चित भएका थिए । उनी लगातार २ पटक प्रधानपञ्च भएको डा.शर्माले जानकारी दिए । 

नगर पञ्चायतमा रहदा शिक्षालाई नगर मातहत ल्याएर हेर्ने व्यवस्था उपाध्यायले नै नेपालमा पहिलो पटक गरेको पनि डा.शर्माको भनाई छ । उनले भने,‘अहिले गणतन्त्र र संघीयता आएपछि शिक्षालाई स्थानीय तहको जिम्मा दिइएको छ । तर, उहाँले यो काम नगर पञ्चायतमा रहदा नै धरानमा प्राथमिक शिक्षालाई नगर पञ्चायनत अन्तर्गत राखेर शिक्षाको शुभारम्भ गर्नुभएको थियो ।’

डा.शर्माका अनुसार वि.स.१९९३ चैतमा जन्मिएका उपाध्याय २०१९ सालदेखि लगातार २ पटक प्रधानपञ्च भएका थिए । उनी २०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भएका थिए । उनलाई २०४३ सालमा सरकारले जनकपुर अञ्चलको अञ्चालाधिश बनाएको थियो । पञ्चायती व्यवस्था फालिनु अघिसम्म उनी अञ्चालधिश नै थिए । मृतक उपाध्यायको पार्थिव शरीरलाई भोली सोमबार बिहान साढे ८ बजे दाहसँस्कारको लागि चतरा लगिने भएको छ ।