धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना विद्यार्थीहरु होस्टेलभित्रै वियर पिएर उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुरुष छात्रावासभित्रै बियर पिउदै होहल्ला र गालीगलौज गरिरहेको अवस्थामा आज बिहान होस्टल प्रशासनले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर मेडिकल जाँच गराएपछि ईलाका प्रहरी कार्यालयमा लगेको छ । अर्का एक जना भने उम्किएका छन् । पक्राउ पर्नेहरुमा बिडिएस अध्ययनरत सरोज देवकोटा, एमबिबिएस अध्ययनरत क्षितिज रिजाल, आकाश यादव र आदित्य मिश्रा रहेका छन् ।
होस्टल इञ्चार्ज कान्तलाल चौधरीका अनुसार विद्यार्थीहरुले भित्र हो हल्ला र गालीगलौज गरिरहेको भन्दै अन्य विद्यार्थीहरुले गार्डलाई खबर गरेका थिए । गार्डले आफुलाई जानकारी दिएपछि माथिल्लो निकायमा खबर गरेर होस्टल पुग्दा विद्यार्थीहरु मदिरा पिएको अवस्थामा भेटिएको उनले बताए । त्यसपछि थप अप्रिय घटना हुन नदिन प्रहरीलाई खबर गरिएको उनले जानकारी दिए । विद्यार्थीहरुले होस्टलका सेक्युरिटी गार्डलाई पनि अटेरी गरेर हो हल्ला मच्चाउन थालेपछि होस्टल प्रशासनले प्रहरीलाई गुहार्नुपरेको थियो । प्रहरीलाई पनि विद्यार्थीहरुले अटेर गर्दै उच्छृंखल गतिविधि जारी राखेका थिए ।
ईलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख एवं सई भेषबहादुर राउतले मापसे गरेका विद्यार्थीहरुले तोडफोड र उच्छृंखल गतिविधि नगरोस् भनेर सुरक्षाको हिसाबले प्रहरी कार्यालयमा लिएर आएको बताए । उनले भने,‘वीपीले नै भनेपछि हामी गएर लिएका आएका हौं । मापसे पनि गरेका छन् । वियरको बोतल पनि भेटिएको छ ।’ वीपीले चाहे अनुसार कारबाही हुने वा नहुने उनले बताए । प्रतिष्ठानका डिन डा.सिवेन्द्र झाले होस्टलको नियम उल्लंघन गरेको बारेमा अवाश्यक जाँचबुझ गरेर सोही अनुसार सजाय उनीहरुले पाउने बताए ।