धरान: गए राती धरानको १६ नम्बर वडा कार्यालयमा चोरी भएको छ । 

वडा अध्यक्ष दिलकुमार गिरीका अनुसार पिपिई लगाएको चोरले गेट फुटाएर प्रवेश गरेको र रडले ताला फुटाएर कार्यालयमा प्रवेश गरेर चोरी गरेको सिसिटिभी फुजेटबाट देखिएको छ । चोरले वडा सचिव टिकाराम निरौलाको कोठाबाट कम्प्युटर सेट र प्रिन्टरसमेत चोरी गरेको छ भने स्वास्थ्य शाखाको पनि अर्को कम्प्युटर चोरी गरेको अध्यक्ष गिरीले जानकारी दिए । यस्तै, सभा हलको पनि ताला फुटाएर त्यहाँ रहेको ज्येष्ठ नागरिकहरुको दराज फुटाएको छ भने टेवल पंखा पनि भाचिदिएको छ । 

चोर राती ११ बजेर २५ मिनेटमा प्रवेश गरेको फुटेजबाट खुलेको छ । चोरले धेरै ठाउँमा खोजी गरेपछि वडा सचिव र स्वास्थ्यको कोठाको ताला रडले फुटाएर भित्र प्रवेश गरेको थियो । अर्को वडाका जनप्रतिनिधिको कोठा र राजश्वको कोठामा भने चोर प्रवेश गर्न सकेको थिएन । त्यहाँ नगद पनि राखिएकोले चोर ताला फुटाएर प्रवेश गरेको भए थप क्षति हुनसक्ने हुने अध्यक्ष गिरीले बताए । उनका अनुसार उक्त चोर बिहान ३ बजेर ५७ मिनेट पछि बाहिरिएको देखिन्छ । 'एक जना मान्छे, पिपिई लगाएर पसेको छ, र सभाहल, सचिव र स्वास्थ्यको कोठा गरि ३ वटा कोठा फोडेको छ,'अध्यक्ष गिरीले भने,'प्रहरीले मुचुल्का उठाएर लगेको छ, आइतबार निवेदन दिन्छौं ।'