धरान: प्रहरीले मोरङ र उदयपुर जिल्लाबाट ब्राउन सुगर र गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
मोरङमा ब्राउन सुगरसहित एक युवा समातिएका हुन् भने उदयपुरमा गाँजासहित २ जना युवा पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिराटनगर महानगरपालिका २ दुर्गा चौकबाट ब्राउन सुगरसहित मोरङको पथरी शनिश्चरे ६ का २३ बर्षीय निरज गोडी पक्राउ परेका हुन् । उनलाई हिजो आइतबार बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले समातेको थियो । उनको साथबाट ब्राउन सुगर ८ ग्राम पनि वरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
यस्तै, उदयपुरको बेलका नगरपालिका ८ कोठूबाट गाँजासहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाउँपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई रहेका छन् । उनीहरुलाई पनि प्रहरीले हिजो बेलुका साढे ५ बजे पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बोलेरो चेकजाँच गर्ने क्रममा बोलेरोको गाँजा वरामद भएको हो ।
गाडीको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजा फेला परे पछि सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराजको भएको खुलेपछि उनीहरुलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।