धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ३ हर्दियामा छिमेकी महिलालाई एसिड प्रहार गरि फरार व्यक्ति पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय महेन्दल्र नगरको टोलीले घटना पश्चात फरार रहेका ३० बर्षीया रोमन राजधामीलाई काठमाण्डौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा पक्राउ परेका राजधामीलाई सुनसरी ल्याएर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी विरुद्ध एसिड आक्रमण(कुटपिट वा अंगभंग सम्बन्धी कसुर) मुद्दामा सुनसरी जिल्ला अदालतबाट पक्राउ परेकै दिनबाट लागु हुने गरि ७ दिनको म्याद थप भएर अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ । 

साउन १२ गते राती रोमन र उनकी श्रमिति २८ बर्षीया सरु भन्ने सरस्वती बस्नेतबीच चुरोटको बिषयमा झगडा भएको थियो । रोमनले श्रीमतिलाई एसिड प्रहार गर्न खोजे पछि उनी ज्यान जोगाउन भागेर छिमेकी श्यामकुमारी धामीको घरमा सरण लिन पुगेकी थिइन् । हातमा एसिडको बोतलसहित आएका रोमनले ढोका खोल्न भन्दै लात्ती प्रहार गरेपछि सम्झाई बुझाई गर्ने क्रममा छिमेकी श्यामकुमारीलाई नै एसिड प्रहार गरेका थिए । टाउको र अनुहारमा एसिड प्रहारले श्यामकुमारी गम्भीर घाइते भएकी छिन् । श्यामकुमारीलाई एसिड प्रहार भएपछि छुट्याउन आएका  छिमेकी सुमन राजधामी र सुजन राजधामीलाई पनि एसिडको छिटा लागेर दुवै सामान्य घाइते छन् ।

एसिडले गम्भीर घाइते भएकी श्यामकुमारीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचार हुन नसकेपछि उनलाई म्याक्स अस्पताल विराटनगरमा लगिएको थियो । पीडितको सोही अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।