धरान: कोशी राजमार्गमा पर्ने धरान ८ तीनकुनेमा सवारी दुर्घटनामा परि घाइते भएका एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली का ४० बर्षीया मिरादेवी साह रहेकी छिन् । आज बिहान साढे ९ बजे दुर्घटना भएको थियो । धरानबाट ईटहरीतर्फ जादै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिएको थियो । साथै, बिपरीत दिशाबाट जादै गरेको प्रदेश-१-०२-०४० प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई बसले ठक्कर दिएको प्रहरीको भनाई छ ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक छोरा २५ बर्षीय बिमल साह र उनको आमा ४० बर्षीया मिरादेवी घाईते भएका थिए । दुवैलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उपचारको क्रममा ११ बजे मिरादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते छोरा बिमलको भने उपचार भइरहेको छ । दुर्घटनामा परेको ३ वटै सावारी साधन ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । साथै, बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।