धरान: प्रहरी जवान पदको लागि १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा भएको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जना युवाहरु पक्राउ परेका छन् । 

पक्राउ परेकाहरुले विभिन्न युवाहरुबाट प्रहरी जवान पदमा भर्ना गराई दिने भन्दै रकम उठाएको पनि प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका ६ का २३ बर्षीय सुर्य राई, १९ बर्षीय सागर राई र २२ बर्षीय संगम राई रहेका छन् । यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका ८ का १९ बर्षीय सरोज राई, वडा ३ का २१ बर्षीय खपाङ राई र र वडा ८ का २७ बर्षीय राजकुमार राई रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पौवादुङ्माका सुर्य राईले संगम राईलाई प्रहरीमा भर्ना गराईदिन्छु भनेर १ लाख १८ हजार, सागर राईबाट १ लाख १८ हजार र साँगरीगढीका सरोज राईबाट २ लाख रुपैया लिएको पनि खुलेको छ । उनीहरुलाई १ नम्बर प्रदेश प्रदेश प्रहरी तालिम केन्द्रले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो । उनीहरुलाई शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) वमोजिम परीक्षा सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको पनि डिएसपी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

डिएसपी श्रेष्ठका अनुसार पक्राउ परेका मध्ये सुर्य राई आफै परिक्षार्थी बनेर परीक्षामा सहभागी भएका थिए भने पक्राउ परेका राजकुमार राई चाजोपाजो मिलाउने व्यक्ति हुन् । अन्य ४ जना भने परीक्षार्थी भएको डिएसपी श्रेष्ठले जानकारी दिए । 'सुर्यले भर्ना गराउछुँ भनेर पैसा पनि असुलेको रहेछ, उसले एउटाको नाममा परिक्षा दिइरहेको भेटियो,' डिएसपी श्रेष्ठले भने, 'राजकुमार चै जाँचोपाँजो मिलाउने हो । अरु ४ जना परिक्षार्थी हो ।'