धरान: धरानका विभिन्न ७ वटा वडामा बुधबार १ हजार ८ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जोन्सन खोप कार्यक्रमको पहिलो दिन ५०७ जना पुरुष र ५०१ जना महिलाले खोप लगाएका छन् । महाशाखाका अनुसार वडा नं. २ को सिंहदेवीस्थित नेशनल मल्टिपल कलेज खोप केन्द्रमा १२० जनाले खोप लगाएका छन् । यसैगरि, वडा नं. ३ को भानु स्मृति माविमा १५०, वडा नं. ४ को हर्दियास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ५२, वडा नं. ६ को पानवारीस्थित सरस्वती माविमा २१० जनाले खोप लगाएका छन् । 

यस्तै, वडा नं. ७ को सिद्धि नेवाः परिषदमा १२४, वडा नं. ९ को समिट माविमा १४२ र वडा नं. १० को सैनिक भवनमा रहेको खोप केन्द्रमा २१० जनाले जोन्सन खोप लगाएको स्वास्थ्य महाशाखाकी अधिकृत दिपा अधिकारीले जानकारी दिइन् । उनका अनुसार ५० देखि ५४ वर्ष उमेर समुहका ६२१ जनाले खोप लगाएका छन् भने अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका १९ जनाले खोप लगाए । यस्तै, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरु १३९ जनाले खोप लगाएका छन् भने वैदेशिक रोजगारमा जाने २२९ जनाले पनि जोन्सन खोप लगाएका छन् । धरानमा जोन्सन खोप ५ हजार डोज आएको छ । 

३५७ जनाले लगाए भेरो सेल खोप

धरान १ स्थित उद्योग वाणिज्य संघमा बुधबार ३५७ जना उद्योगी व्यवसायीले भेरोसेल खोप लगाएका छन् । महाशाखाका अनुसार २०४ पुरुष र १५३ जना महिलाले यो खोप लगाएका हुन् । छुटेका व्यवसायीहरुको लागि बिहीबार पनि उक्त खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरिएको छ । धरान क्षेत्रका उद्योगी, व्यवसायीहरुको लागि ७ सय भेरोसेल खोप छुट्याइएको छ । 

धरानमा भेरोसेल खोप ३ हजार डोज आएको छ । उक्त खोपकेन्द्रमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र मानव अधिकारकर्मी, विमा, लघुवित्त, आईएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लाईन्स क्लब, रोटरी, संघ संस्था, छुटेका संस्थानका कर्मचारी, ईन्टरनेट–केवलमा कार्यरत कर्मचारी, शैलुनलाई भेरोसेल खोप लगाईने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

खोप केन्द्रहरुको अनुगमन 

खोप कार्यक्रम चलिरहदा बुधबार मेयर तिलक राईको नेतृत्वमा बुधबार धरानका विभिन्न खोप केन्द्रहरुमा अनुगमन समेत भएको थियो । मेयर राईको नेतृत्वमा जिल्ला समन्वय समितिका अध्यक्ष एवं खोप संयोजक गोपाल राज भण्डारी, धरानका विभिन्न राजनीतिक दलका नेता, उपमेयर मञ्जु भण्डारी, राजस्व महाशाखा प्रमुख एवं सुचना अधिकृत खगेन्द्र खतिवडा, नेपाल रेडक्रस सोसाईटी सुनसरीका सभापति उमेश थापा खोप केन्द्रको अनुगमनमा पुगेका थिए । अनुगमन टोलीले खोप केन्द्रमा शान्तिपूर्ण वातावरणमा खोप कार्यक्रम सञ्चालन भएको जनाएको छ । 

बिहिबार ६ वडामा खोप कार्यक्रम हुने

धरानमा बिहिबार विभिन्न ६ वटा वडामा खोप कार्यक्रम हुनेछ । उपमहानगरपालिकाका अनुसार वडा नं. ११ को लागि ज्ञानोदय मावि, वडा नं. १२ को लागि पब्लिक हाई स्कुल, वडा नं. १४ को लागि दन्तकाली मावि, वडा नं. १६ को लागि चन्द्र सँस्कृति मावि, वडा नं. १७ को लागि पञ्चायत मावि रेल्वे र वडा नं. १९ को लागि किरातेश्वर माविमा खोप केन्द्र रहनेछ ।