धरान: प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई इटहरीबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इटहरी ४ फलामे पुलका ४८ बर्षीय संजयकुमार चौधरी रहेका छन् । उनले लागुऔषध कारोबार गरिरहेको भन्ने सुचनाको पाएपछि ईलाका प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । चौधरीको शरीर खानतलासी गर्दा उनको साथबाट नाइट्रोभेट १० लेखिएको ८ वटा ट्याब्लेट र प्रतिबन्धित स्पास्मोप्रोक्सिभन प्लस १४ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले चौधरीको घर तथा वरपर खानतलासी गर्दा शौचालय नजिकै बाँसघारीको बीचमा खाल्डोमा झ्याँस र घर छाउने टायलले छोपेको अवस्थामा थप लागुऔषध फेला पारेको थियो । प्रहरीका अनुसार पहँलो रंगको प्लाष्टिकको ड्रम गाडेको अवस्थामा डाइलक्स डिसि १०० एमएलको ३३ बोतल, प्लाष्टिकमा लुकाएको नाइड्रोभेट १० को ३०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लास २४० ट्याब्लेट, स्पास्मो ८० ट्याब्लेट र थप ३२ ट्याब्लेट फेला परेको थियो । लागुऔषधसहित पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।