विराटनगर: मोरङमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ परेका दुवै झापाका हुन् ।
बेलबारी नगरपालिका १० स्थित पुर्वपश्चिम राजमार्गमा पर्ने भाउन्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३९ बर्षीय खेम मगर र मेचीनगर ३ का लोकबन्धु दर्नाल पक्राउ परेका हुन् । लक्ष्मीमार्गबाट कानेपोखरीतर्फ पैदल गइरहेको बेला ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खेमलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर वरामद गरेको जनाएको छ ।
यस्तै, थप अनुसन्धानको क्रममा लोकबन्धुलाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । बेलबारी ३ बाट पक्राउ परेका उनको साथबाट पनि ९ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर वरामद गरेको प्रहरीले जानकारी दिएको छ । दुवैलाई मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।