धरान: गत बर्ष असोज ९ गते धरान १४ पिण्डेश्वर मन्दिर जाने बाबाधाम मार्गस्थित आइतबारे थानको एक सामान्य घरमा आगलागी भयो । उक्त घर आइतीमाया लिम्बुको थियो ।
आइतीमाया निम्न आर्थिक अवस्थाकी थिइन् । उनी बजारको एक मिलमा काम गरेर गुजारा चलाउछिन् । उनी राम्रोसँग बोल्न सक्दिनन् । उनको साथमा १७, १८ बर्षको एक छोरा, बुहारी र नाती छन् । छोरा बुहारी सफारी चलाउछन् तर गुजारा गर्न हम्मे छ । आगलागी भएपछि आइतबिचल्ली हुने अवस्था आयो । उनको अवस्थाले धरान वडा नं ३ का युवा राजनीतिकर्मी मिङ्मा भोटे, दिपक घिमिङ, धरान १० की सोनाम हाङ लावती चिन्तित बने । आइतीमायासँग सोनामको चिनजान पुरानो थियो ।
उनीहरुले गत बर्ष नै बाँसको टाटी हालेर ४०, ५० हजारको एउटा घर बनाइदिने योजना बनाएका थिए । तर, लकडाउनको कारण योजनाले सार्थकता पाएन । यद्यपी, आइतीमायाको लागि त्यो योजना विफल हुनु फाइदाजनक भयो । बाँसको टाटीको घर बनाइदिने योजना बनाएका अभियन्ताहरुले पछि गुणस्तरीय घर नै बनाइदिने योजनामा जुटे, र आर्थिक सहयोग अभियान शुरु गरे । देश विदेशबाट सहयोगी दाताहरुबाट साथ पनि मिल्यो ।
विगत ३ महिनादेखि घर निर्माण कार्य शुरु भयो । निर्माण सम्पन्न भएको उक्त घर आज शनिबार एक कार्यक्रमबीच आइतीमायालाई हस्तान्तरण गरिएको छ । अभियन्ता मिङ्मा भोेटेको अध्यक्षता, वडा नं ३ का समाजसेवी सर्वजीत राईको प्रमुख आतिथ्यता, वडा नं ३ की जनप्रतिनिधि उषा सुब्बालगायतको उपस्थितिमा घर हस्तान्तरण भएको हो । जग उठाएर, भुँइ ढलाई गरेर जस्ताले बारेको व्यवस्थित घर पाएपछि आइतीमाया पनि खुशी भइन् । उनले सहयोगी दाताहरु सबैलाई धन्यवाद पनि व्यक्त गरिन् ।
घर निर्माण अभियानकर्ता मिङ्मा भोटेका अनुसार आइतीमाया घरबहारविहिन नहोस् भनेर घर निर्माण अभियान शुरु गरेको र २ लाख ५२ हजार रुपैया खर्च भइसकेको जानकारी दिए । अर्का अभियानकर्ता सोनाम हाङ लावतीले पारदर्शीरुपमा घर निर्माणमा खर्च भएको बताइन् । उनले सबै मिलेर लागिपरे यस्तै सामाजिक कार्यहरु गर्न सकिने बताइन् । समाजसेवी सर्वजीत राईले सह्रानीय कार्य भएको भन्दै दाताहरुलाई धन्याद दिएका थिए ।
भिडियो :