मोरङ: करिब एक बर्षअघि मोरङको बेलवारीमा ग्याङ फाइटमा हत्या अभियोग लागेका फरार मुख्य आरोपित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङको ग्रामथान–२ का ३१ वर्षीय कृष्ण चौधरी रहेका छन् । उनलाई मोरङ प्रहरीले हिजो शनिबार सुन्दर हरैचाको बाँसबारीबाट प्रहरीले पक्राउ गरेको हो । उनको घर भने सुनसरीको दुहबीमा छ । उनी घटनाको मुख्य अभियुक्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका ५ कसेनीस्थित लोहन्द्रा खोला पुलमा गत बर्ष भदौ १२ गते ग्याङ फाइट भएको थियो ।

उक्त घटनामा धारिलो हतियार लागेर चन्द्रकुमार राई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा प्रहरीले यसअघि ६ जनालाई पक्राउ गरेर कर्तव्य जयान मुद्दामा दर्ता गरिसकेको छ । मोरङ प्रहरीका अनुसार यसअघि पक्राउ पर्नेहरुमा ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, बेलबारी नगरपालिका ५ का ३१ वर्षीय विनयकुमार सरदार, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजेन्द्र राई रहेका छन् ।