झापा: झापाको बाह्रदर्शी गाउँपालिका ७ सिमल चौकस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटरमा पछाडी सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् । हिजो (आइतबार) राती साढे १० बजे उत्तरतर्फ जादै गरेको प्रदेश-१-०१-०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १-०१-००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिएको थियो । उक्त दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भएका थिए ।
उनीहरुलाई उपचारको लागी बिएण्डसि अस्पतालमा पुर्याउन साथ सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते कार्कीको उपचार भईरहेको प्रहरीको भनाई छ। दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।