धरान: तीन दिनदेखि हराइरहेका धरान १७ पटनालीस्थित ज्वालामुखी माविका शिक्षक लक्ष्मण अधिकारीको शव सप्तकोशी नदीमा भेटिएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार बराहक्षेत्र ९ स्थित राजाबासमा कोशी नदीमा अधिकारीको शव फेला परेको हो । माछा मार्ने केही व्यक्तिहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले निकालेको शव अधिकारीको भएको खुलेको थियो । मृतक शिक्षकसँगै गायक तथा गीतकार पनि हुन् । उनी गीत गाउथे भने गीत पनि आफै लेख्थे । धरान संगीत प्रतिष्ठानमा पनि उनी आवद्ध थिए ।
मृतकको शवलाई मुचुल्का गरेर पोष्टमार्टमको लागि वीपी प्रतिष्ठान धरान पठाएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । उनका अनुसार मृतक भदौ १ गतेदेखि नै हराइरहेका थिए । परिवारजनले उनी हराएकै दिन प्रहरीमा खबर गरेपछि खोजी भइरहेको थियो । प्रहरीले बराहक्षेत्र ८ शुक्रबारेस्थित कोशी बाँधमा अधिकारीको मोटरसाइकल, झोला, चप्पललगायत सामानहरु फेला परेको थियो । कोशी बाँधमा सामान फेला परेपछि शिक्षक अधिकारीले कोशीमा हाम्फालेर आत्महत्या गरेको अनुमान गरिएको थियो ।
प्रहरीका अनुसार मृतकको सामानहरु वरामद गर्दा सोसाइट नोट पनि फेला परेको छ । त्यसमा अधिकारीले के लेखेका छन् भन्ने बारे प्रहरीले जानकारी दिएको छैन । 'सोसाइट नोट पनि छ, त्यो अनुसन्धानकै क्रममा भएकोले भन्न मिल्दैन,' प्रहरी निरीक्षक राजवंशीले भने, 'मृतकको दाईलाई देखाइसकेका छौं, परिवारबाट थप कुरा आएपछि आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान हुन्छ ।'