धरान: प्रदेश १ मा अलग अलग मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलु र उदयपुरमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो । सोलुको दुधकोशी गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा बा ५४ प ७७२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडा नं २ का ३२ बर्षीय सुमन राईको मृत्यु भएको हो । मोटरसाइकल चालक रहेका उनी आफैले ओडेको पानी बर्सादी मोटरसाइकलको पछाडि चक्कामा बेरिएर दुर्घटना भएको थियो । शनिबार भएको दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको सवारी चालक अनुमति पत्र नखुलेको, मापसे गरेको र लापरवाहीको कारण दुर्घटना भएको प्रहरीको भनाई छ।
यस्तै, शनिबार नै साढे ६ बजे उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडास्थित सगरमाथा सडकखण्डमा गाईघाटबाट मोतिगडा जादै गरेको प्र-०१-०५-००१ प ३७१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक ३४ बर्षीय शान्तिराम राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल लगएको थियो । उनको उपचारको क्रममा ६ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।