धरान: जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा फैसला भई कैद वा जरिवाना तोकिए पनि फछ्यौट नगरि फरार रहेका ८३ जना एकै दिन पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार एकै दिन कैद तथा जरिवना तोकिएका ८३ जना फरारहरुलाई पक्राउ गरिएको हो । अदालतले गरेको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरु एकै दिन पक्राउ परेका हुन् । सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पेश गरिएको थियो ।
चालु आर्थिक बर्षमा बुधबार पक्राउ परेका ८३ जनासहित कुल ३८३ जना फरारहरु पक्राउ परेका छन् । उनीहरुको अदालतको अभिलेख अनुसार ८० बर्ष २ महिना २३ दिन कैद सजाय फछ्यौट भएको छ भने १४ लाख ८९ हजार ५०० जरिवना पनि असुल फछ्यौट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचबिखन, सवारी ज्यान, लागुऔषध, जर्बजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार, गालीबेइज्जतीलगायत मुद्दाका छन् ।