धरान: कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो खोपको प्रतिक्षामा रहेकाहरुलाई एस्ट्राजेनेका खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई यही भदौ १३, १४ र १५ गते दोस्रो मात्रा लगानेछ । स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईका अनुसार गत बर्ष फागुन २३ गतेदेखि कोभिसिल्डको पहिलो मात्रा खोप लगाइएको थियो । त्यसयता कोभिसिल्डको पहिलो मात्रा लगाएका सबैजनालाई ३ दिन एस्ट्राजेनेका खोप लगाइने उनले बताए ।
‘फागुन २३ गतेदेखि कोभिसिल्ड खोप पहिलो मात्रा लगाएकाहरुलाई ३ दिनमा लगाइदैछ, आफ्नो खोप कार्ड लिएर खोप केन्द्रमा जान सबैलाई आग्रह गर्छु,’उनले भने । पहिला ३ दिन फागुन २३ गतेयता खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाइनेछ । त्यसपछि, परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुलाई पनि लगाइने प्रमुख प्रसाईले जानकारी दिए ।
के हो एस्ट्राजेनिका खोप ?
कोभिसिल्ड र एस्ट्राजेनेका खोप नामले अलग अलग लागेपनि एउटै हो । स्वास्थ्य कार्यालय प्रमुख प्रसाईका अनुसार एस्ट्राजेनिका बेलायती कम्पनी हो । उक्त कम्पनीको विभिन्न देशमा शाखा कम्पनीहरु छन् । त्यही मध्ये भारतमा उत्पादन भएको खोप हो कोभिसिल्ड । उक्त खोप नेपालमा अनुदानमा आएको थियो ।
अहिले कोभिसिल्डको सट्टामा दोस्रो मात्रा खोप लगाउने तयारी गरिएको एस्ट्राजेनेका पनि उही नै हो, तर अर्कै देशमा उत्पादन भएकोले मात्र नाम अलग रहेको प्रमुख प्रसाईले बताए । ‘पहिला कोभिसिल्ड नाममा भारतमा उत्पादन भएको खोप थियो, अहिले जापानबाट आउदैछ । एउटै नै हो, तर नाम मात्र फरक हो,’उनले प्रष्ट्याउदै भने ।
धरानमा एस्ट्राजेनेका र भेरोसेल लगाइने
धरान उपमहानगरपालिकामा भने एस्ट्राजेनेका र भेरो सेलको दोस्रो मात्रा लगाइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार धरानमा कोभिसिल्डको पहिलो मत्रा लगाएकाहरुलाई १३ र १४ गते एस्ट्राजेनेकाको दोस्रो खोप लगाइनेछ । भदौ १३ गते वडा नं १ देखि १० सम्मकाहरुलाई खोप लगाइने छ भने १४ गते वडा नं ११ देखि २० सम्मकाहरुलाई खोप लगाइनेछ । धरानमा कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका संख्या ७ हजार ७२८ जना रहेको छ ।
यस्तै, भेरो सेलको पहिलो मात्रा लगाइसकेकाहरुलाई धरानमा भदौ १५ १६ र १७ गते दोस्रो मात्रा लगाइनेछ । मेहताका अनुसार वडा नं १ देखि १० सम्मकाहरुलाई १५ गते, ११ वडादेखि २० नम्बर वडासम्मकालाई १६ गते खोप लगाइने भने १७ गते छुटेकाहरुलाई भेरो सेलको दोस्रो मात्रा लगाइनेछ । भेरो सेलको दोस्रो मात्रा लगाउनु पर्ने संख्या १५ हजार ३११ जना रहेको मेहताले जानकारी दिए ।