भोजपुर: भोजपुरमा एक व्यक्तिले श्रीमतिको हत्या गरेपछि आफै पनि झुण्डिएर आत्महत्या गरेका छन् । 

भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्कका ४० बर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गए राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईको हत्या गरेका हुन् । श्रीमतिलाई धारिलो खुकुरीले ढाडमा प्रहार गरेर हत्या गरेका थिए । त्यसपछि, आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागेर झुण्डिएको अबस्थामा फेला परेको थियो ।

घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटना बारे जानकारी पाएलगत्तै स्थानियबासी घरमा पुगेका थिए । त्यसबेला ईन्द्रकलाको मृत्यु भई सकेको र बुद्धिमानलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटिए थप अनुसन्धान गरिरहेको भोजपुर प्रहरीले जनएको छ ।