धरान: सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा आज बिहान आगलागी भएको छ । 

बिहान ९ बजेर २० मिनेटमा शुरु भएको आगलागी २ घण्टा पश्चात करिब साढे ११ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

उक्त आगलागीबाट २ करोड बराबर क्षति पुगेको प्रारम्भिक अनुमान रहेको पनि उनले जानकारी दिए । आगलागी नियन्त्रणको लागि इटहरी, इनरुवा, धरान, बराहक्षेत्र, कोशी गाउँपालिका र दुहबीको समेत दमकल प्रयोग गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयले पनि आगो निभाउन भुमिका खेलेका थिए ।