धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकर्मीहरुले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेको छ ।
सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेको हो । संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले सरकारले सम्झौता गरेपनि कार्यान्वयनमा ढिलाई गरिरहेको कारण सेवा बहिष्कार गर्ने बताए । उनले आफुहरुले उठाएको मुद्दा स्थापित भएको र सरकारले लिपिवद्धसमेत गरेपनि कार्यान्वयनमा आनाकानी गर्नु ज्यादै दुःखद भएको पनि बताए ।
डा.पोखरेलले कोभिडको तेस्रो लहर आउनसक्ने विज्ञहरुको चेतावनी हुँदा पनि सरकारले स्वास्थ्यमन्त्री नियुक्ती नगरेको भन्दै आक्रोश पनि पोखे । संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले पदाधिकारी छनौट हुँदादेखि नै केन्द्रबाटै गडबडी भइरहेकोले आफुहरुको आन्दोलन पनि केन्द्रसम्म पुगेको बताए । स्वास्थ्य मन्त्रालय, नेपाल सरकार र राजनीतिक दलसम्म सुद्धिकरण आन्दोलन पुगेको र त्यहीबाट नै सुधार हुनुपर्ने डा.रिमालले बताए । आन्दोलनले समस्यासँगै समाधान पनि देखाइदिएको उनको भनाई थियो ।
प्रतिष्ठानमा बेथिती बढेको, आर्थिक अनियमितता एवं भ्रष्टचार बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारीहरु विगत दुई महिनादेखि आन्दोलनरत छन् । आन्दोलन चर्कदै गएपछि सरकारले उच्चस्तरीय छानबिन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बित्त लागेको छ । प्रतिवेदनले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरेको थियो । यस्तै, स्वास्थ्य मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग ६ बुँदे सहमति गर्दै पदाधिकारीहरुलाई पदमुक्त गर्ने भनेपनि कार्यान्वयन भएको छैन ।