धरान: नेकपा एमालेको प्रदेश १ को कार्यदलले प्रदेशका १४ जिल्लाहरुमा २०७५ जेठ २ अघिकै पुरानो नेतृत्व स्थापित गर्ने निर्णय गरेको छ । 

बिहिबार विराटनगरमा मुख्यमन्त्री भीम आचार्यसहित बसेको कार्यदलको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयनको लागि २०७५ जेठ २ अघिकै पुरानो नेतृत्वलाई स्थापित गर्ने निर्णय गरेको हो । एमालेले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न सहजीकरणको लागि प्रदेश १ मा ५ जना नेताहरु रहेको कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा रहेका मुख्यमन्त्री एवं प्रदेश १ इञ्चार्ज भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुङ रहेका थिए । हिजो कार्यदलमा रहेका नेताहरु बैठक बसेर निर्णय गरेका हुन् ।

कार्यदल सदस्य देवराज घिमिरेका अनुसार १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा २०७५ जेठ २ अघि १४ वटा जिल्लामा रहेको नेतृत्वलाई स्थापित गर्ने निर्णय बैठकले गरेको हो । अब २०७५ जेठ २ अघिकै एमालेको जिल्ला नेतृत्व आधिकारिक मानिने उनले बताए । ‘१० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा २०७५ जेठ २ अघि जो जो नेतृत्वमा हुनुहुन्थ्यो, उहाँहरु नै रहने गरि निर्णय भएको छ,’घिमिरेले भने,‘सुनसरी जिल्ला कमिटीको नेतृत्व रमेश बस्नेत हुनुहुन्थ्यो, अब उहाँ नै हो । सुनसरीमा मात्र होइन, १४ जिल्लामै यही लागु हुन्छ ।’

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले जिल्लाहरुमा समानन्तर कमिटी चलाएको थियो । जेठ २ अघिकै नेतृत्वलाई स्थापित गर्ने निर्णयले समानन्तर बनेको कमिटीहरु अब स्वतः खारेज भएका छन् । त्यसरी खारेज भएको कमिटीमा नेतृत्वहरुलाई पनि अन्य जिम्मेवारीमा राखेर पुरानो कमिटीलाई वलियो बनाइने कार्यदल सदस्य घिमिरेले बताए । उनले भने,‘यही नीतिगत निर्णयमा बसेर जनवर्गीय संगठन, पालिका, वडा तहसम्म जान्छौं, कतिमा समझदारी गरेर पनि जानसक्छौं ।’

रेवतीरमण भण्डारीलाई इटहरीका मेयरको कटाक्ष

dwarik

एमाले प्रदेशको ५ सदस्यीय कार्यदलले २०७५ जेठ २ अघिकै नेतृत्व स्थापित गर्ने निर्णय गरेपछि सुनसरी जिल्लामा एमाले अध्यक्ष रमेश बस्नेत आधिकरिकता पाएको छ । योसँगै विगतमा रेवतीरमण भण्डारीको अध्यक्षतामा बनेको सुनसरीको एमाले जिल्ला कमिटी खारेज भएको छ । 

कार्यदलको यो निर्णयपछि एमालेबाट निवार्चित इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले रेवतीरमण भण्डारीलाई मणि हराएको नाग भन्दै कटाक्ष गरेका छन् । आज बिहान मेयर चौधरीले सामाजिक सञ्जाल फेसबुकमा भण्डारीको फोटोसहित पोष्ट गर्दै भनेका छन्,‘मणि हराएका नाग ।’ चौधरीको यो पोष्ट कार्यदलले गरेको निर्णयप्रति लक्षित छ । मेयर चौधरीको पोष्टमा अधिकांशले भने पदीय मर्यादा ख्याल नगरेको भन्दै आलोचना गरेका छन् ।