धरान: विरामीको मृत्यु भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा आज (शनिबार) दिउँसो केहीबेर लफडा भएको छ ।
धरान २० विष्णुपादुकाकी करिब ४१ बर्षीया फुलमाया राईको शनिबार बिहानै करिब ३ बजेतिर मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार मृतक इर्मजेन्सीमा ल्याइपुर्याउदा नै मृत भइसकेकी थिइन् । विरामीका आफन्तहरुले भने अघिल्लो दिन उपचारको लागि ल्याउदा इर्मजेन्सीबाट सबै नर्मल छ भनेर घर पठाइदिएको कारण मृत्यु भएको भन्दै सम्बन्धित डाक्टरलाई कारबाही गर्नुपर्ने, लाइसेन्स खारेजी हुनुपर्ने माग गरेका थिए । दिउँसो करिब २ बजेतिर मृतकका आफन्तजनहरु भेला भएपछि इर्मजेन्सीमा केहीबेर तनाव भएको थियो ।
मृतक आफन्तजनहरुले अघिल्लो दिन नै विरामी ठिकै छ भनेर घर पठाइदिएको भन्दै आक्रोश पोखेका थिए । राती गाह्रो भएपछि पुनः परिवारजनले विरामीलाई प्रतिष्ठानको इर्मजेन्सी ल्याएका थिए । उनको बाटोमा नै मृत्यु भइसकेको अस्पतालको भनाई छ । मृतकका आफन्तहरुले शव जिम्मा नलिदा दिनभरि नै इर्मजेन्सीमा रहेको थियो । प्रहरीको रोहबरमा दिउँसो करिब ४ बजेरित मात्र शव मर्चरीमा लगिएको छ ।
प्रतिष्ठानका अस्पताल उपनिर्देशक डा.दिव्यराज मिश्रका अनुसार मृतक परिवारले उजुरी दिएको कारण अस्पताल प्रशासनले कमिटी बनाएर घटनाको आन्तरिकरुपमा छानबिन गर्नेछ । मृतक परिवारले स्वास्थ्य मन्त्रालय, प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय र मेडिकल काउन्सिलमा पनि उजुरीको बोधार्थ दिएको हुनाले ती निकायबाट पनि छानबिन हुनसक्ने उनले बताए । ‘अस्ति विरामी आउदा मृगौलामा इन्फेक्सन र पत्थरी देखिएको थियो । तर, ब्लडप्रेसरलगायत अरु नर्मल भएकोले डिस्चार्ज भएको देखिन्छ । उहाँहरुको गुनासो त्यो बेला डिस्चार्ज गर्न मिल्ने थियो कि थिएन भन्ने नै छ,’मिश्राले भने,‘उजुरी आएकोले आन्तरिकरुपमा छानबिन गछौं, मन्त्रालय र काउन्सिलमा पनि उजुरी पठाउनुभएको छ, त्यहाँबाट पनि केही होला ।’