धरान: भेरो सेल र कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई धरानमा आज खोप कार्यक्रम शुरु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार धरान १ छाताचोकस्थित पुरानो अस्पताल हाताभित्रको स्वास्थ्य चौकी र धरान ७ स्थित सिद्धि नेवाः परिषदको भवनमा खोप केन्द्र रहेको छ । पुरानो अस्पतालको खोप केन्द्रमा भेरो सेलको दोस्रो मात्र लगाउन छुटेकाहरुलाई खोप लगाइनेछ भने सिद्धि नेवाः परिषदमा कोभिसिल्डको दोस्रो मात्रा छुटेकाहरुलाई एस्ट्राजेनेका खोप लगाइनेछ । दुवै स्थानमा आज १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

धरानमा कोभिशिल्ड र भेरो सेलको दोस्रो मात्रा लगाउन बाँकी रहेको संख्या ३७ सय छ । यसअघि यसअघि धरानमा भदौ १३ र १४ गते कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका ६ हजार ४ सय ३२ जनाले लगाएका थिए । यो खोपको दोस्रो मात्रा १ हजार ३ सय ९ जनाले लगाउन बाँकी रहेको छ । यस्तै, भदौ १५ र १६ गते धरानमा भेरो सेलको दोस्रो मात्रा लगाउनेहरुको संख्या १२ हजार ९ सय २० जना रहेको छ । उक्त खोप पनि अझै २ हजार ३ सय ९१ जनाले दोस्रो मात्रा लगाउन बाँकी रहेको देखिन्छ ।