धरान: एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन आज बिहिबार धरानमा एमसीसीको चर्को विरोध भएको छ ।
राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हो । उनीहरुले विरोध प्रर्दशनको क्रममा 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै नाराबाजीसमेत गरेका थिए । विरोध सभालाई राष्ट्रिय एकता सञ्जालका अध्यक्ष हर्क साम्पाङसहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।
वक्ताहरुले एमीसी नेपालको लागि राष्ट्रघाती सम्झौता भएकोले कुनै पनि हालतमा संसदले अनुमोदन गर्न नहुने बताएका थिए । उनीहरुले एमसीसी लागु भएमा नेपालको कानुनभन्दा माथि हुने भन्दै यसले देशको अस्मिता, स्वतन्त्रतामाथि नै प्रश्न उठाएको बताए । उनीहरुले मेचीदेखि महाकालीसम्म भारतीय सिमा क्षेत्र मिचिदा ध्यान नदिने, महाकालीमा भारतीय एसएसबीले तुइन काटेर ज्यान गुमाएको नेपालीबारे नबोल्ने सरकारले एमसीसी पारित गर्न हतारिएको भन्दै आलोचनासमेत गरेका थिए ।