धरान: स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्दै धरानका विद्यालय-कलेज खुलाउन तथा परीक्षा सञ्चालन गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ । 

संघले शुक्रबार धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परीक्षा सञ्चालन गर्न माग गरेको हो । धरानका मेयर तिलक राईलाई चार वटा आंगिक क्याम्पसको नेविसंघले शुक्रबार संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएको हो । मेयर राईलाई धरानका महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पिण्डेश्वर विद्यापीठ र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसले ध्यानाकर्षण बुझाएको हो । 

ध्यानाकर्षण पत्र बुझ्दै मेयर राईले आम नगरबासीको मुख्य एजेन्डा नै विद्यालय कहिले खुल्छ भन्ने भएको बताए । साथै उनले विस्तारै विद्यालय खुला हुने पनि धारणा व्यक्त गरे । उनले यस विषयलाई उपमहानगरपालिकाले गम्भीरतापूर्वक लिईरहेको पनि बताए । उनले धरान शैक्षिक शहर रहेकोले शैक्षिक पर्यटनको रुपमा विकास गर्नुपर्ने पनि धारणा राखे । मेयर राईले विद्यार्थी संगठनलाई नारा/जुलुस भन्दा पनि रचनात्मक काम गर्न पनि सुझाव दिए ।

महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ कार्यबाहक सभापति दोर्ची शेर्पाले शैक्षिक क्षेत्रहरु कोरोनाका कारण लामो समयदेखि प्रभावित भएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमै विद्यालय सञ्चालन तथा परिक्षा सञ्चालन गर्न माग गरिएको बताए । शेर्पाले आम नागरिकलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने सरकारको नीति अनुसार उपलब्ध खोप सबै विद्यार्थीहरुलाई लगाउन पनि माग गरेको जानकारी दिए ।

धरानका शैक्षिक संस्थाहरुमा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड परिपालना भए/नभएको अनुगमन गरेर विद्यालयहरुमा पठनपाठन सुचारु गर्नुपर्ने शेर्पाले बताए । 'शैक्षिक संस्थाहरु लामो समयदेखि बन्छ । भौतिक उपस्थितिमा पठनपाठन नहुदा विद्यार्थीहरुको पढाई पनि कमजोर भइरुहेको छ, अनलाइन प्रभावकारी हुन सकेको छैन,' शेर्पाले भने, 'अब केही न केही उपाय खोजेर खोल्नुपर्छ । कोरोना संक्रमण पनि कम हुदैछ, सबै विद्यार्थीहरुलाई पुर्ण खोप उपलब्ध गराएर, मापदण्ड पुर्णरुपमा पालना गराएर खोल्नुपर्छ भन्ने हो ।'