धरन: संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न भएको आशंकामा एक छिमेकी युवा पक्राउ परेका छन् । 

प्रहरीका अनुसार छिमेकी युवा २६ बर्षीय बर्षीय लोकबहादुर कार्की पक्राउ परेका हुन् । उनी मृतक परिवारका आफन्तसमेत हुन् । उनलाई आज बिहान पक्राउ गरेको बताइएको छ । पक्राउ परेका युवा मानसिक समस्या भएको र औषधीसमेत सेवन गरिरहेको पाइएको प्रहरीको भनाई छ । 

उनको घरमा रगत लागेको कपडा वरामद भएको थियो भने हत्यामा प्रयोग भएको रड पनि भेटिएको थियो । उनको कपडामा लागेको रगत र मृतकको डिएनए परीक्षण गरेर सार्वजनिक गर्ने प्रहरीको भनाई छ । हत्या आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । 

गत सोमबार मादी नगरपालिका-१ का  बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको विभत्स हत्या गरिएको थियो । घरमा रहेका वृद्ध बुद्धमान मात्र जिवित रहेका थिए । उनकी पत्नी ८४ बर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।

उक्त घटनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), धरानस्थित संघीय प्रहरी ईकाई कार्यालय, प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी आफै घटनास्थलमा छन् भने नगरपालिकाका प्रमुख विदुर लिंथेप पनि केही दिनदेखि घटनास्थल क्षेत्रमा नै छन् । 

मादी नगरपालिकाका मेयर विदुर लिंथेपले हत्यारा पत्ता नलगाई आफु त्यहाँबाट नफर्कने बताएका छन् । क्लिकधरानसँग मोवाइल सम्पर्कमा कुरा गर्दै उनले घटना ज्यादै दुःखद भएको र स्थानीयबासीमा पनि त्रास बढेकोले प्रदेश प्रहरी प्रमुखसहित आफु पनि केही दिनदेखि घटना भएको क्षेत्रमा नै बसिरहेको बताए । 

मेयर लिंथेपले प्रहरीले दिनरात गरेर मिहिनढंगले अनुसन्धान गरिरहेकोले हत्यारा पत्ता लागेरै छोड्ने बताए । 'म पनि घटना भएको क्षेत्रमा नै छुँ । डिआइजी साब पनि यही हुनुहुन्छ,' उनले भने, 'जसरी पनि पत्ता लगाउनुपर्छ, लागेरै छोड्छ ।' उनले हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेकोबारे भने खुलाउन चाहेनन् तर केही संकेत भने गरे । 'आज एक्सन लिने कुरा छ, भोलीसम्म प्रष्ट हुन्छ,' मेयर लिंथेपले भने ।