धरान: धरानबाट युवा राजनीति शुरु गरेर हाल काठमाण्डौ बस्दै आएका नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय नेता रुमेश भनिने रुसिल कटुवाल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले उनलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कटवालको स्थायी घर धरान ९ हो । उनी हाल काठमाण्डौं महानगरपालिका वडा ३२ मा बस्दै आएका थिए । उनीसँगै मोरङको केराबारी गाउँपालिका ६ घर भई काठमाण्डौं बस्दै आएका धिरज कुमार दाहालले ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरु दुवैले  काठमाण्डौं ४ सुकेधारा बस्दै आएका उद्धव प्रसाद अधिकारीलाई ठगी गरेको प्रहरीको आरोप छ । 

ठगी आरोप लागेका दाहालको नाममा रहेको मोरङको केरावारी गाबिस ६ (क) कित्ता नम्बर ६३८ को १ कट्ठा १० धुर र कित्ता नम्बर ६४० को ७ कट्ठा २ धुर जग्गा बिक्री गर्ने भन्दै बैनासमेत लिए पनि जग्गा भने राजिनामा पास नगरि सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ । उनीहरुले नगद र नेपाल ईन्भेष्मेण्ट बैंक बत्तिसपुतली शाखामा रहेको खाताको चेकसमेत गरि कुल ६८ लाख ९० हजार लिएर सम्पर्कविहिन भएका थिए ।

सोही जग्गा असार २० गते मालपोत कार्यालय मोरङमा गएर अन्य व्यक्तिहरुको नाममा बिक्रीसमते गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही घटनामा कटुवालले ठगी गरेको आरोपमा पक्राउ गरी ठगी अभियोगमा अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । साथै फरार रहेका दाहाललाई पक्राउ गर्न खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।