धरान: कोरोना संक्रमणको जोखिम न्युन हुदै गएपछि धरानमा असोज ४ गतेदेखि विद्यालयहरु खुलाउने तयारी भएको छ । 

विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्नेबारे आवश्यक राय, सुझावहरु संकलन गरिरहेको उपमहानगरपालिकाले यसबारेमा भोली बिहिबारको कार्यपालिका बैठकबाट निर्णय लिने भएको छ । निजी विद्यालयहरुले शुल्क वृद्धि गरेको बिषयमा आज अभिभावक संघ धरानले ध्यानाकर्षण पत्र बुझाउन गएको बेला मेयर तिलक राईले यस्तो जानकारी दिएका हुन् । उनले असोज १ गतेदेखि नै विद्यालय लगाउने तयारी गरिए पनि निरन्तर विदा पर्ने भएपछि असोज ४ गतेदेखि विद्यालय लाग्ने बताए । 

मेयर राईका अनुसार विद्यालय खुलाउने बारे भोली बिहिबारको कार्यपालिका बैठकबाट आवश्यक निर्णय हुनेछ । उपमहानगरले यसबारेमा सबै पक्षसँग राय, सुझावहरु लिइरहेको र सबैले नै विद्यालय खुलाउनेबारे सकरात्मक रहेको पनि उनले बताए । ‘स्कुल स्वास्थ्य प्रोटोकल पुरा गरेर लगाउने हो, जति दिन लाग्छ लगाउनुपर्छ,’मेयर राईले भने,‘एक चरण सबै पक्षसँग छलफल भइसकेको छ, भोली कार्यपालिका बैठकबाट निर्णय गछौं ।’

असोज १ गते शुक्रबार परेको र २, ३ गते लगातार शनिबार, संविधान दिवसको विदा भएकोले असोज ४ गतेदेखि स्कुल सञ्चालन गर्ने उपमहानगरको तयारी हो । यसअघि उपमहानगरले सामुदायिक विद्यालयका प्रअहरुसँग छलफल गर्दा स्वास्थ्य प्रोटोकल पुर्णरुपमा पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने सबैको राय थियो भने निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरुले पनि स्वास्थ्य प्रोटोकल अपनाएर विद्यालय खुलाउन माग गर्दै आएको छ । ‘अहिले पनि अनलाइन कक्षा भइरहेकै छ । अनलाइन कक्षाबाट नानीहरुमा पढाईमा भन्दा अन्य कुरामा भुलिने, एकोहोरो अनलाइन कक्षा हुँदा शारीरिक र मानसिकरुपमा पनि समस्या हुने भएकोले स्कुल लगाउनुपर्यो भनिरहेको अवस्थ छ,’ मेयर राईले भने,‘ धेरै ठाउँमा स्कुलहरु चलिसकेको छ । समस्या भयो भने होल्ड गरौला, तर के हुन्छ के भनेर त्यतिकै बसेर मात्र भएन ।’