धरान: धरानका २ जना युवा प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ७ का ३० बर्षीय सन्तोष लिम्बु र धरान ८ का २८ बर्षीय सविन तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले इनरुवा ३ स्थित पुर्वपश्चिम राजमार्गमा पर्ने सखुवागाछीबाट पक्राउ गरिएको हो । पुर्वतर्फ गइरहेका दुवै जना प्रदेश नं १ ( ०२ ) ०४५ प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार थिए । 

उनीहरु चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा प्रतिबन्धित औषधी ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठुलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट कुल ९ हजार २५० क्याप्सुल ट्रमाडोल भेटिएको छ । दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ।