धरान: मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करिब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दर हरैचा नगरपालिका ९ सलकपुर आएकी थिइन् । 

उनको विवाह सुन्दर हरैचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी तिनै रोजिनाको हिजो आइतबार रहस्यमय मृत्यु भएको छ । श्रीमानका परिवारले रोजिनाले कोठाभित्र आत्महत्या गरेको दाबी गरिरहेका छन् भने माइती पक्षले कुटपिट गरि हत्या भएको र आत्महत्या गरेको भन्ने बनाएको आरोप लगाइरहेका छन् । माइती पक्षले ईलाका प्रहरी कार्यालय बेलबारीमा उजुरीसमेत दिएका छन्, तर प्रहरी पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थप कार्वाही प्रक्रिया अघि बढाउने निचोडमा पुगेको छ । मृतकका श्रीमान् भने विदेशमा छन् । 

मृतक रोजिनाको शव पोष्टमार्टम गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान ल्याइएको छ । सोमबार उनको शव पोष्टमार्टम गर्ने भनेपछि माइती पक्ष दिनभर वीपी प्रतिष्ठानमा आएर समय बिताए, तर मृतकको श्रीमानतर्फका भने कोही पनि आफन्त नआएपछि उनीहरु घर फर्किएको छिमेकी गीतादेवी अधिकारी पौडेलले बताइन् । उनले भनिन्,‘प्रहरीले पोष्टमार्टम हुन्छ आउनुस् भनेपछि हामी धरान गयौ तर ५ घण्टासम्म बस्दा पनि कोही नआएपछि फर्कियौ ।’

गीतादेवीका अनुसार हिजो आइतबार बिहान ७ बजेर ४५ मिनेटमा रोजिनाले आत्महत्या गरेको भनेर प्रहरीले खबर गरेको थियो । उनको घर र मृतक रोजिनाको माइतीको घरको आगन एउटै हो । प्रहरीलाई आफुहरु नआइपुग्दासम्म केही नगर्नुस् भनेपनि वडाअध्यक्षको रोहबरमा खोलिसकेको अवस्थामा भेटेको उनको भनाई छ । ‘झुण्डिएर मरेको भन्छन्, तर हामीले हेर्दा पलंगको छेउमा सिरानी च्यापेर घोप्टो अवस्थामा सुतेको थियो,’उनले भनिन्,‘निलडामहरु पनि छ, हामीलाई मारेको आशंका छ । प्रहरीमा जोहरी दिदा पनि दर्ता भएन, प्रहरीमाथि पनि शंका छ ।’

ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी निरीक्षक सरोज खनालले भने शव पोष्टमार्टमको लागि धरान पठाएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने बताए । कोठा भित्रबाट चुलुक लगाएको, झ्याल ढोका सबै बन्द भएको जानकारी दिदै उनले बाहिरीरुपमा हेर्दा चोटपटक नदेखिएको बताए। ‘हाम्रो बाहिरी आँखाले सरसर्ति हेर्दा त्यस्तो केही देखिएको छैन, इन्टरनल के भएको छ, त्यो पोष्टमार्टमबाट खुल्छ,’खनालले भने,‘माइती पक्षबाट हिजो पनि र आज पनि जाहेरी आएको छ, उहाँहरुको कुरा हत्या भयो भन्ने छ। अब पोष्टमार्टम रिपोर्ट के आउछ, हेरौ ।’ आज (सोमबार) पारिवारिक कारणले पोष्टमार्टम हुन नसकेको खुलाउदै प्रहरी निरीक्षक खनालले  मंगलबार पोष्टमार्टम हुने बताए ।