धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिदा वडाका जनप्रतिनिधिहरु भ्रष्ट भएको बताएका छन् ।

मञ्चको राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन बिहिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले संघीयतालाई कमजोर बनाउन वडालाई राजा झै बनाएको र त्यसले वडा भ्रष्ट भएको जिकिर गरे । उनले भने,‘संघीयतालाई कमजोर बनाउन वडालाई राजा बनायो, त्यो वडा कति भ्रष्ट भयो । ७ हजार वडामा सातै हजार भ्रष्ट देखियो । त्यो संघीयतालाई खत्तम गर्नलाई हो ।’

उनका अनुसार एकात्मकवादी सत्ताले लिम्बुवान, खम्बुवान, ताम्मासालिङ्जस्ता पहिचान बोकेका प्रान्तहरु हुन नदिन डिजाइन गरेको पनि बताए । पहाडको डाँडामा वडाअध्यक्षहरुले बुलजोडर लगाएर गलाएको कारण यसपाली बाढीपहिरो आउदा लेदो बगेको उनको भनाई थियो । ‘पहाड गल्यो नि त । ७ वटै प्रदेशको राजधानी तराई ल्यायो । भारतले ल्याउ भनेको त थिएन होला । पहाड त मरुभुमी  बनाइहाल्यो । तर पनि वडालाई असिमित अधिकार दिने चलन छ, यसले त खतमै हुनेछ । १० बर्षमा पहाड, नेपाल त मरुभुमी नै हुनेछ । यसकोविरुद्धमा हाम्रो लडाई हो,’उनले भने ।

kumar-lingden2

लिङ्देनले पहिचान र १० प्लस १ प्रदेशको लागि लडाई निरन्तर जारी रहेको पनि बताए । पहिचानको जगमा उठेर मात्र समृद्ध नेपाल निमाण गर्न सकिने रहेछ भन्ने कुरा सबैले बुझ्दै गएको उनको भनाई थियो । देशको एक जातीय हैकमवादी राणाशासनको मानसिकता बोकेको कर्मचारीतन्त्र भएको र बजेटको ६५ प्रतिशत खर्च कर्मचारीतन्त्रमा भएको कारण विकास हुन नसकेको उनको भनाई थिो । ‘१४ खर्ब बजेटमा ९ खर्ब कर्मचारीलाई, एक खर्ब विदेशी ऋण तिर्न र अरु विकासलाई हुन्छ । अनि नेपाल अघि बढ्छ ? खाली खाने र अनुत्पादक क्षेत्रमा भयो बजेट,’उनले भने,‘बजेट कर्मचारीतन्त्रमा हुने खर्च ६५ बाट ३५ प्रतिशत बजेट कर्मचारीतन्त्रलाई दिनुपर्छ, अरु चै विकासमा लगाउनुपर्छ ।’

आगामी चुनावको घोषणा पत्र तथा राजनीतिक एजेण्डा अहिले नै तयार गरेको जानकारी दिदै लिङ्देनले आउदो चुनावमा धेरै भन्दा धेरै वडा, गाउँपालिका र नगरपालिका जित्ने लक्ष्य रहेका पनि बताए । उनले हाल १ नम्बर प्रदेशमा एक जना मात्र सांसद रहेको उल्लेख गर्दै सांसद संख्या कम्तीमा २५, ३० प्रतिशत पुर्याएर आफ्नो कुरा संसदमा राख्ने पनि बताए । उनले थ्रेस होल्ड कटाएर मञ्चलाई राष्ट्रिय पार्टी बनाउने उद्घोष गर्दै लिङ्देनले भने, ‘अब ७९ सालमा चुनाव होला, ८० सालमा तयारी गरेर ८१ सालमा ९, १० प्रान्तमा आन्दोलन विकास गरेर अन्तिममा सिंहदरबाबर ध्वस्त बनाइदिन्छौ । शान्तिपुर्ण आन्दोलनमार्फत राजनीतिक हमला हुन्छ, सडकबाटै आन्दोलनबाट एकात्मकवादी सत्ता ध्वस्त गर्ने योजना छ ।’

मंसिर २६ र २७ गते राष्ट्रिय महाधिवेशन हुने

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते धरानमा हुने भएको छ । मञ्चले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै असोज १२ गते भर्चुअल माध्यमबाट भएको वृहत बैठकले महाधिवेशनको मिति, स्थान तय गर्दै मुल आयोजक समिति र विभिन्न समितिहरु गठन भएको जानकारी दिएको छ ।

महाधिवेशनको लागि अध्यक्ष कुमार लिङ्देन मिराक संयोजक रहेको मुल आयोजक समिति गठन भएको र सदस्यहरुमा संघीय समिति, सबै प्रान्तीय मञ्चका अध्यक्ष एवं समितिहरु, प्रवासका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु रहने निर्णय गरेको पनि मञ्चले जनाएको छ । यस्तै, महाधिवेशनको लागि आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति,विदेश विभाग समिति, स्वास्थ्य उप समिति, स्वयमसेवक उपसमिति, अतिथि सत्कार समितिलगायत विभिन्न समितिहरु पनि गठन गरेको मञ्चले जानकारी दिएको छ । 

मञ्चले सम्बद्ध प्रान्तीय मञ्चहरुको महाधिवेशन, राष्ट्रिय सम्मेलन, वृहत प्रान्तीय मिटिङहरु पनि विभिन्न मितिमा गर्ने निर्णय गरेको जानकारी दिएको छ । कोरोना महामारीको परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनमा ६ सयदेखि १ हजारको हाराहारीमा मात्र प्रतिनिधिहरु रहने पनि मञ्चले जनाएको छ ।