धरान: प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डमा नियुक्ती गरेको छ । 

मुख्यमन्त्री भीम आचार्यको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्ती गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेन्याङ्बोलाई नियुक्ती गरिएको छ । यस्तै, सदस्य सचिवमा विराटनगरका पर्शुराम बस्नेत नियुक्ती भएका छन् भने सदस्यहरुमा सुनसरीका भेषराज कार्की, विप्लभ घोष(सुनसरी), थलु राजभण्डारी (ओखलढुंगा) र कृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्तै, मन्त्रिपरिषद बैठकले ११ सदस्यीय प्रदेश पर्यटन बोर्डमा पनि सदस्यहरु नियुक्त गरेको छ । बोर्डको अध्यक्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रहनेछन् भने एक जना अर्थमन्त्रालयको अधिकृत, एक जना मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रतिनिधि, एकजना मन्त्रालयकै पर्यटन महाशाखा प्रमुख रहने व्यवस्था छ । 

यस्तै, ६ जना उद्योग पर्यटन क्षेत्रमा विगत १० बर्षदेखि लागेका व्यक्ति रहने व्यवस्था अनुसार नियुक्तीको निर्णय भएको मुख्यमन्त्रीका सचिवलायले जनाएको छ । बैठकले मनोनयन सिफारिस समितिको सिफारिश अनुसार फडिन्द्र अधिकारी(विराटनगर), देवी गौतम (सुनसरी), भीम राज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा(इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोड)लाई बोर्डमा नियुक्रि गर्ने निर्णय गरेको छ । 

सोही बैठकले खुपु खोला जल विद्युत आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार शेयर लगानी गर्ने निर्णय गरेको छ । यसैगरि, प्रदेश श्रम सल्लाहकार नियुक्तीको निर्णय पनि बैठकले गरेको छ । उपाध्यक्षमा झापाका राजिव घिमिरेलाई नियुक्त गरिएको छ भने सदस्यहरुमा भीम घिमिरे विराटनगर, सरोज श्रेष्ठ धरान, सिता उपाध्यय मोरङ, रञ्जु सिग्देल इटहरी, किशोर धमला विराटनगर,अरुण थापा विराटनगर, नारायणबाबु कार्की मोरङ, सुनिता घिमिरे मोरङ, टिका प्रसाई सुनसरी, निलम साह सोनार मोरङ रहेका छन् ।