धरान: दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबु सुनसरीले धरानमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ । 

दबुले सोमबार साँझ शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेवाः देय दबु सुनसरीका अध्यक्ष तीर्थ मास्केले दशैंको शुभकामना व्यक्त गर्दै नेपाल सम्बतलाई सबैको साझारुपमा मनाउनुपर्ने धारणा राखे । उनले नेपाल सम्बत नेवार समुदायको मात्र नभएकोमा जोडदिए । 

‘नेपाल सम्बत उपत्यकाबासी नेवार समुदायका व्यक्तिले चलाए, उपत्यकामा नेवार समुदाय थिए, र नेवारको मात्र सम्बत जस्तो भयो,’ अध्यक्ष मास्केले भने,‘तर यो नेवार सम्बत होइन, नेपाल सम्बत हो ।’ नेपाल सम्बतको उल्लेख गर्दा महिना बारेमा पनि चर्चा गर्नुपर्नेमा मास्केले जोडदिए । उनले भने,‘यो कुनै समुदाय, धर्म, भुगोलबासीको मात्र होइन, राष्ट्रिय सम्बत हो, नेपालकै हो । सबैले स्वीकार गरिदिनको लागि पनि मेरो आग्रह छ ।’

newa-patrakar

नेवाः देय दबु, धरानका अध्यक्ष मनोहर शाक्यले देश सबैको साझा फुलबारी बनाउनुपर्ने धारणा राखे । उनले दशैंलाई सबैले मनाइरहदा अन्य चाडपर्वलाई पनि सम्मान गर्नुपर्ने बताए । अग्रज पत्रकार महेश श्रेष्ठले दशैंलाई स्वास्थ्यरुपमा मनाउन आग्रह गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष विनय प्रधान, नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष आनन्द श्रेष्ठ, पत्रकार महासंघका पुर्वउपाध्यक्ष सन्तोष काप्mलेलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।