विराटनगर: सोमबार दिउँसो मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सात जनाको समुहले बैंकको सेक्युरिटी गार्डलाई गोली प्रहार गरि लुटपाट गर्ने समुहका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि सार्वजनिक गरेको हो । लुटेरा समुहको प्रतिकार गर्दा बैंकका गार्ड ४० बर्षीय सितल कुमालको खुकुरी खोसेर गोली प्रहार गरेका थिए । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने उनी खतरामुक्त छन् । घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुखसहित विभिन्न युनिटबाट प्रहरी टोली परिचान भएको थियो । 

प्रहरीले करिब ४ बजे धनपालथान २ खयरबना चोक नजिकबाट भाग्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा विराटनगर ८ का ३२ बर्षीय श्याम मुखिया, भारतको अररिया खेसपुरा ५ का २८ बर्षीय सुनिल यादव र अररिया ४ का ३० बर्षीय विजय सहनी रहेका छन् । सहनीको बाँया तीघ्रामा गोली लागेर घाइते भएका थिए । उनीसहित ३ जना को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । घाइते सहनीको रंगेली अस्पतालमा उपचार पश्चात निको भएपछि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । 

उक्त घटनाको अनुसन्धान गर्दा प्रारम्भिकरुपमा अन्य ६ जनाको पनि संलग्नता रहेको खुलेको छ । उनीहरुको पनि खोजी कार्य जारी राखिएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले घटना पश्चात भाग्न प्रयोग भएको मोटरसाइकल, पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको कटुवा पेस्तोल एक थान, एक राउण्ड लोडेड गोली पनि वरामद गरेको छ भने घटनास्थलमा पेस्तोलको नपड्किएको १ राउण्ड गोली, खोका १ थान र घाइते गार्ड सितल कुमालको शरिरबाट निकालिएको गोली १ थान पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ । उक्त घटनामा बैंकको २१ लाखभन्दा बढी नगद लुटिएको बताइएको छ । नगद भने फेला परेको छैन ।