इटहरी: नेपालीहरुको घर घरमा दशै भित्रिइसकेको छ । तर, इटहरी २ स्थित माया घरमा आश्रय लिइरहेका परिवारलाई भने दशैंको रौनक थिएन ।

माया घरमा १ सय २ जना आश्रित छन् । उनीहरुलाई न नयाँ कपडा किन्ने चटारो थियो, न मिठो मिठो खानाको स्वाद । तिनै माया घरमा आश्रित परिवारले बुधबार भने दशैं आएको अनुभूति गरे । माया घरमा इटहरी उपमहानगरपालिकाको तर्फवाट उपप्रमुख लक्ष्मी गौतम पुगिन्, र त्यहाँ आश्रित १०२ जनालाई नै नयाँ कपडा, मासु खानाको ब्यवस्था गरिदिइन् । 

सबै जना घर घरमा दशैको उमंगमा रमाइरहेका बेला माया घरमा आश्रित १ सय २ जनाको लागि इटहरी उपमहानगरपालिकाले दशैको अनुभूति गराउने प्रयास गरेको उपमेयर गौतमले बताइन् । माया घरकी सचिव सुभद्रा प्याकुरेलले माया घरमा दशै आएको अनुभूति दिएको बताइन् । समस्या परेको वेला उपमहानगरको तर्फवाट सहयोग लिएर उपप्रमुख आइरहदा माया घरलाई सजिलो भएको उनको भनाई छ । माया घरले मानसिक सन्तुलन ठीक नभएर असहाय रुपमा सडकमा बस्न बाध्य महिला तथा बालबालिकालाई आश्रय दिदै आएको छ ।