धरान: इटहरी २ निवासी वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ । 

आज विहान ३ वजेर १७ मिनेटमा विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई उपचारका लागि अस्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारको क्रममा आइसीयु आवश्यक परेपछि हिजो बिहिबार वेलुका उनलाई विराटनगर लगिएको थियो । पूराना कम्यूनिष्ठ नेता कोइराला लामो समयदेखि मृगौला सम्वन्धि रोगबाट पीडित थिए । 

कोइराला २०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा जन्मिएका थिए । उनका श्रीमती, ४ भाई छोरा र २ जना छोरी छन् । शरीर दान गरेको कारण आवश्यक प्रक्रिया पूरा गरेर दिउसो १ वजे उनकै निवासमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम गरिने वताइएको छ । नेता कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म जननेता मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गरेका थिए । २०२६ सालमा जनता मावि इटहरीमा अध्यन गर्दा देखिनै उनी वामपन्थि राजनीतिमा प्रभावित भएका थिए । त्यहाँ उनी स्ववियू सभापति पनि भएका थिए ।

२०३० सालमा महेन्द्र वहुमुखी क्याम्पसमा अध्यन गर्दा स्ववियूको साहित्य सचिव र भूमिगत संगठन युवा लिगको सचिव भएर भूमिका निर्वाह गरेका थिए । त्यही वेला उनी समेत सस्थापक रहेर रातोझण्डा नामक कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनी २०४२ सालमा नेकपा मालेको सुनसरी जिल्ला कमिटिको कार्यवाहक सचिव बनेका थिए । सुनसरी जिल्लाको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुरयाउन उनको योगदान छ । उनी २०४६ सालमा आन्दोलनको क्रममा पक्राउ परेका थिए ।

२०४४ सालमा अनेकिसंघ सुनसरीको अध्यक्ष,२०४६ सालमा नेकपा माले अञ्चल सचिवालय सदस्य, २०५० सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय उपाध्यक्ष वनेर मजदुर आन्दोलनलाई उचाईमा पुरयाउन योगादन दिएका थिए । उनले प्रकाशित अप्रकाशित गरि १४ वटा पुस्तक लेखेका छन् । उनलाई ओम कोइराला नागरिक अभिनन्दन समितिले गत असोज २३ गते इटहरीमा भब्य नागरिक अभिनन्दन गरेको थियो । सोही कार्यक्रममा उनका तीन पुस्तक लोकापर्ण गरिएको थियो ।