धरान : बेमौसमी बर्षासँगै आएको बाढीले धरानको बगरकोटबासीले उपभोग गर्दै आइरहेको खानेपानीको पाइपलाइनमा क्षति पुगेको छ। 

क्षतिको स्थलगत अनुगमन गर्ने क्रममा मेयर तिलक राईले आज शुक्रबार धरान १५ स्थित वगरकोटका एक हजार घरधुनीले उपभोग गर्ने खानेपानी मुहानको अनुगमन गरेका छन् । कार्तिक २ गते आएको बाढीले बगरकोटका करिब एक हजार घरधुरीले उपभोग गर्ने खानेपानीको पाइपलाईनमा क्षति पुगेपछि खानेपानी अवरुद्ध छ ।

माथिल्लो बगरकोटबासीले सेउती खोलाको मुहानबाट खानेपानी उपभोग गर्दै आएका छन् । अनुगमनका क्रममा मेयर राईले खानेपानीको पाईपलाईन तत्काल विस्तार गरेर खानेपानीको समस्याको समाधान गरिदिने बताए । खानेपानीको मुहानलाई पनि घेराबार गरेर संरक्षण गर्नुपर्ने उनले बताए । 

khanepani

यस्तै, वडा नं. ५ र ६ को सिमाना भएर बग्ने सेहरा खोलाको पनि उनले स्थलगत अनुगमन गरेको हुन् । सेहरा खोलाको बाढीले धरान ५ स्थित खैरेनीमा एक घर बगाएको छ भने धान लगाएको खेत समेत कटान गरेको पाइएको छ । उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठले उक्त स्थानमा करिब ५ सयदेखि ७ सय मिटर च्यानलिङ गरेर थप क्षति हुनबाट जोगाउन सकिने बताए । खोलाको बिचमा ढुंगा, गिट्टी थुप्रिएको छ । दुई, तिनदिन भित्रै उक्त क्षेत्रमा च्यानलिङको काम थालिने उनको भनाई छ ।