धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११८ को उपधारा २ वमोजिम आफु माथि प्रदेश सभाको विश्वास छ भन्ने स्पष्ट पार्न भन्दै प्रदेश सभा नियमावली २०७४ को नियम १२८ (४) वमोजिम विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । प्रदेशसभामा स्पष्ट अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले सरकारको आयु लम्ब्याउन खोजेको भन्दै चौतर्फी आलोचनाको बीचमा आज मात्र विश्वासको मत लिन प्रस्ताव पेश गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावबारे आगामी आइतबार छलफल तथा मत विभाजनबाट छिनोफानो हुनेछ । प्रदेशसभाका सभामुख प्रदिप भण्डारीले मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको प्रस्ताव माथि छलफल तथा मत विभाजनद्धारा आइत्बार निर्णय गरिने जानकारी गराएका थिए । साथै, उनले आइतबार दिउँसो साढे १२ बजेसम्मको लागि प्रदेशसभा बैठक पनि स्थगित गरेका थिए । 

संसदमा बहुमतको लागि ४७ सिट आवश्यक छ । तर, एमालेसँग हाल सभामुख र एक जना फरार सुचीका संसदबाहेक ३९ सिट मात्र छ । विपक्षी गठबन्धनको कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १ जना सांसद छन् । प्रदेश १ मा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्मयन्त्री हुने तय भएको छ ।