धरान: बेमौसम बर्षासँगै आएको बाढी तथा पहिरोमा परि मृत्यु भएको परिवारलाई धरान उपमहानगरपालिकाले २५ हजार उपलब्ध गराउने भएको छ । 

धरान उपमहानगरपालिका क्षेत्रभित्र पुर्याएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापन गर्न शुक्रबार नगर विपद व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय समिक्षात्मक बैठकमा मेयर तिलक राईले जानकरी दिएका हुन् । धरानका मेयर एवं नगर विपद व्यवस्थापन समितिका संयोजक तिलक राईको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा मेयर राईले नगरपालिकामा छलफल गरि मृतकका परिवारलाई २५ हजार रुपैयाँ दिने जानकारी गराए । मेयर राईले भने, ‘संघीय, प्रदेश सरकारले मृतकका परिवार पैसा दिने घोषणा गरिसकेको अवस्था छ, नगरपालिकामा छलफल गरेर हामी पनि दिन्छौं ।’

गत बुधबारदेखि क्षति न्यूनिकरण, लगत संकलन तथा व्यवस्थापनमा लागिरहेको समेत मेयर राईले बताए । ‘जहाँ अव्यवस्थित बसोबास छ, त्यहाँ विपद जोखिमको समस्या छ,’ मेयर राईले भने । मेयर राईले खोलामा ढुंगा टिप्न पुरै बन्देज गर्नुपर्ने बताउँदै यस्ता कार्यले नै खोला किनाराका छेउछाउमा रहेका बस्तिमा बाढी पसेर धनजनको क्षति हुने गरेको बताए । विपत जोखिम न्यूनिकरणको विषयमा वृहत रुपमा छलफल गरेर कार्यान्वयन गर्दै जाने मेयर राईको भनाई थियो । 

बैठकमा ईञ्जिनियर रोशन गिरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र भएका क्षतिको बारेमा जानकारी गराए । यस्तै, वडाका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको समेत उपस्थिती थियो । उनीहरुले धरान २० स्थित २२० केभि लाइनले समस्या भएको, नगरपालिकाले अनुगमन गर्नुपर्ने, तामाखाम सडक खण्डको ५५ एच टावर खन्दा निस्केको माटोले तामाखाम सडक अवरुद्ध साथै बस्ति जोखिम परेको, ५६ एच टावर खन्दा सेछ पार्क माथि लगाएको ग्याभिन झरेको र पहिरो गएको, आहाले जाने सडक जोखिम रहेको, विष्णुपादुका जाने सडक अवरुद्ध, सालबोटे पहिरोको छेउमा एक घर जोखिममा रहेको बताएका थिए । 

यस्तै, बैठकमा विपद प्रतिकार्य योजना तयार गर्नुपर्ने, मसाने खोलाको व्यवस्थापन गर्नुपर्ने, कल्भर्ट ठूलो बनाउनुपर्ने, खोला सिधा बनाउनुपर्ने, सुमनटार क्षेत्रमा उत्खनन कार्यमा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, भित्तामा कटिङ गरेर घर बनाउँदा जोखिम हुने (शिवधारा), सुलिकोट पहिरो रोकथाम गर्नुपर्ने, खोला संरक्षणको गुरु योजना तयार गर्नुपर्ने, विपद व्यवस्थापनका लागि सक्रिय मेकानिजम तयार गरि कृयाशिल हुनुपर्ने, नगरपालिकामा तारजाली स्टक गरि राख्नुपर्ने, नगरपालिकाले जेसिवि खरिद गरि राख्नुपर्ने, जेसिवी÷स्क्याभेटरको लगत राख्नुपर्ने बताएका थिए । 

उपमहानगरपालिकाका विपद व्यवस्थापन तथा वातावरण प्रमुख भेषराज घिमिरेले अत्याधिक वर्षा हुँदा खोलानालामा बाढी आएर बस्तितिर पस्ने हुनाले विपद जोखिमका घटना हुने गरेको बताए । ‘नदी कटान हुँदा पहिरो जाने जाखिम क्षेत्र पहिचान ठिक ढंगले नहुनु, जोखिम क्षेत्र कुन हो ? त्यो जोखिम क्षेत्रमा घर बनाउनु, खोला किनारा तथा बगरमै अव्यवस्थित तरिकाले घर बनाउनु जस्ता कुराहरु विपत जोखिम निम्तिने कारण हुन्,’ घिमिरेले भने,‘जतिबेला पनि त्यस्ता क्षेत्रमा बाढी आएपछि मानविय क्षति हुने सम्भावना हुन्छ । पहाडी क्षेत्रमा जथाभावी रुपमा जेसिवि, स्क्याभेटर प्रयोग गर्नाले माटो कञ्जुर भएर पहिरो जाने सम्भावना हुन्छ ।’

उनले बाढीजन्य जोखिम व्यवस्थापन गर्नका निमित्त सबै नागरिकहरु सचेत हुन जरुरी रहेको बताए । कुन कुन क्षेत्रमा बस्ति बसाल्न सकिन्छ ? भन्ने कुराहरुमा पनि छलफल गर्न जरुरी रहेको उनको भनाई छ । ‘सुरक्षित बस्तिका लागि हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । बाढीजन्य जोखिमबाट बच्नका लागि, पहिरोबाट बच्नका लागि के के गर्नुपर्ने हुन्छ ? आफ्नो बस्तिलाई कसरी सुरक्षित राख्न सकिन्छ ? भनेर अगाडी देखिनै योजना बनाएर काम गर्न सकियो भने सम्भवत बस्तिलाई सुरक्षित बनाउन सक्छौं’,उनले भने, विभिन्न विपतहरु आईरहन्छ । बाढी, पहिरो, आगलागी, हावाहुरी, चट्याङ जस्ता विपदका प्रकोपहरु धेरै हुन्छन् ।’

विपदका प्रकोपलाई नियन्त्रण गर्नका लागि पूर्वतयारीका कार्यक्रमहरु गर्नुपर्ने बताउँदै घिमिरेले पूर्वतयारी जति राम्रो भयो विपदका घटनाहरु पनि त्यतिनै कम हुँदै जाने जानकारी दिए । उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले अव्यवस्थित तरिकाले बसोबास गर्ने, नक्शापास नगरि घर बसोबास गर्ने, खोलानालाको क्षेत्रमा बस्ने नै विपदको जोखिममा पर्ने गरेको बताए ।