धरानः दैनिकरुपमा सयौं सवारीसाधन तथा विरामी बोकेको एम्बुलेन्स आउजाउ गर्ने धरानको धनकुटे रोडको खाल्डाखुल्डी पुर्न तथा कालोपत्रे गर्न आवाज उठ्न थालेपछि स्थानीय सरकार तात्तिएको छ । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने यो सडक खाल्डाखुल्डी बनेर दुर्शशा छ । विरामी बोकेर हिड्ने एम्बुलेन्स र अन्य सवारीसाधनहरुलाई यो सडक भएर हिड्न एकदमै असहज छ । उपमहानगरपालिकाले यसअघि बजेट विनियोजन गरेर मर्मत शुरु गरे पनि खाल्डाखुल्डीमा मिक्स गिट्टी मात्र हालेको थियो । त्यो पनि बर्षाको पानीले बगाएर पुनः ठुलठुला खाल्डा बनाइसकेको छ । केही दिनयता यो सडकको दुराअवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा चर्को आलोचना हुन थालेपछि स्थानीय सरकार मर्मत तथा कालोपत्रे गर्न कस्सिएको हो ।

आइतबार धरानका मेयर तिलक राईको उपस्थितिमा यो सडकमा भएको खाल्डाखुल्डी पुर्न तथा कालोपत्रे गर्न एक उपभोक्ता समिति र अनुगमन समिति गठन भएको छ । मेयर राईले यो सडक धेरै पुरानो सडक भएको हुनाले समय समयमा बिग्री रहने बतए । ‘विपी प्रतिष्ठान आउने धनकुटे रोडमा गत वर्ष पनि केही बजेट छुट्याएर खाल्डाखुल्डी पुरेका थियौं । पिच गर्ने योजना बनाउँदै गर्दा केहीदिन अघि मात्र आएको अविरल वर्षाले फेरी जस्ताको त्यस्तै बनायो,’उनले भने । 

मेयर राईले धनकुटे रोडको बाटो भएर एम्बुलेन्ससहित दैनिक सयौं सवारीसाधनहरु प्रतिष्ठानमा उपचारको लागि आउने भएको हुनाले समस्या नहोस् भनेर तिहार अघि नै काम सम्पन्न गर्न निर्देशन समेत दिए । उपमहानगरका योजना अधिकृत किरण भूजेलले नगरपालिकाको सडक मर्मत कोषबाट धनकुटे रोडको खाल्डाखुल्डी कालोपत्रे गरिने जानकारी दिए । 

धरान धनकुटे सडक कालोपत्रे तथा सडक मर्मत गर्नका लागि उपभोक्ता समितिको अध्यक्षमा सुर्य कुमार लिम्बु, सचिवमा कुन्दन तामाङ र कोषाध्यक्षमा उमा राजभण्डारी चयन भएका छन् भने सदस्यहरुमा सुनिल खड्का, नवराज श्रेष्ठ, रवि लिम्बु, भावना सुब्बा, नमिता राई र टिका लिम्बु छन् । अनुगमन समितिको संयोजकमा धरान वडा नं. १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लाई चयन गरिएको छ । सदस्यहरुमा निर्मल राई, पुर्णबहादुर गुरुङ, हर्क साम्पाङ र रेणुका राई रहेका छन् ।