धरान: विभिन्न विवाद र आरोपमा मुछिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई कारबाही गर्न गठित स्वास्थ्य मन्त्रीसहितको उच्चस्तरीय छानबिन समिति प्रतिष्ठान आएको छ । 

स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका प्रवक्ता डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका मेयर तिलक राई पनि छन् । तीनै जनाको टोली अहिले प्रतिष्ठानको गेष्ट हाउसमा आन्दोलनरत पक्षसँग छलफल गरिरहेको छ । 

कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको ऐन २०४९ को दफा ११(घ) अनुसार यो समिति गठन गरेका हुन् । एक चौथाई सिनेट सदस्यले हस्ताक्षर गरेर पदाधिकारीहरुले जिम्मेवारी पुरा नगरेको भन्दै लिखित निवेदन दिएपछि उनीहरुलाई पदबाट हटाउन सहकुलपतिको संयोजकत्वमा २ जना सिनेट सदस्य रहने गरि उच्चएतरीय छानबिन समिति गठन गर्ने र समितिको प्रतिवेदन सिनेट बैठकबाट अनुमोदन भएपछि हटाउन सक्ने कानुनी व्यवस्था छ । 

प्रतिष्ठानमा बेथिति बढेको, अनियमितता एवं भ्रष्टचारमा पदाधिकारीहरु चुलुम्म डुबेको भन्दै कारबाहीको माग गरि यहाँका चिकित्सक, कर्मचारी, नर्सिङ तथा विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको छ भने मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग ऐनको दफा ११(घ) अनुसार कारबाही गर्न सम्झौता गरिसकेको छ । सोही प्रतिवेदन र सम्झौता कार्यान्वयन गर्न यो समिति गठन भएको हो । 

प्रतिष्ठानका रजिष्ट्रार पदबाट प्रा.डा.मोहनचन्द्र रेग्मीले राजिनामा दिइसकेका छन् । मन्त्रालयले राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले मानेका छैनन् । मन्त्रालयका प्रवक्ता डा.कृष्ण खनालले आन्दोलनरत पक्षसँग छलफल पछि पदाधिकारीहरुसँग पनि समितिले भेट गर्ने जानकारी दिए । साथै, पदाधिकारीहरुलाई पदबाट हटाउन किन नपर्ने भनेर सफाईको मौका पनि दिने उनले बताए । 

इर्मजेन्सी पनि अनुगमन गर्ने

मन्त्री खतिवडाले प्रतिष्ठानको इर्मजेन्सीको अनुमगन गर्ने भएका छन् । प्रतिष्ठानका सरोकारवाला पक्षहरुसँग छलफल गरि सकेपछि मन्त्री खतिवडाले इर्मजेन्सीको अवस्था अनुगमन गर्न लागेका हुन् ।प्रतिष्ठानको इर्मजेन्सी अस्तब्यस्त हुने र उपचार सेवा पनि प्रभावकारीताबारे गुनासो आइरहने गरेको कारण अनुगमन गर्न लागेका हुन् ।